जनता टाइम्स

१३ माघ २०७६, सोमबार १०:२४

नेकपाको केन्द्रीय कमिटी बैठक बुधबारबाट, समुहगत छलफलपछि गाउँगाउँ पस्दै नेता


काठमाडौं, माघ १३

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटिको बैठक बुधबारबाट राजधानीमा शुरु हुदैछ । राजधानीको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा बस्ने बैठकको गृहकार्य तिव्र बनाइएको छ ।

पाँच दिनमा सक्ने तयारी गरिएको बैठकको शुरुमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नुहुनेछ । आमन्त्रितसहित ४४७ सदस्य सहभागी बैठकलाई समुहगत रुपमा विभाजन गरी छलफल चलाइने भएको छ ।

धेरै केन्द्रीय सदस्य भएका कारण एउटै समुहमा छलफल गर्दा लामो समय लाग्ने भएकाले तीन समुहमा विभाजन गरी छलफल चलाउने तयारी भएको छ । एक नेताका अनुसार राष्ट्रिय सभागृह, पार्टी कार्यालय धुम्बाराही र जनवर्गिय संगठनको कार्यालय रहेको पेरिसडाँडामा समुह विभाजन गरी छलफल चलाइने छ । त्यहाबाट आएको निष्कर्षलाई भने सामुहिक रुपमा बैठकमा टोली नेताले राख्नेछन् ।

कार्यालय सचिवद्वयले आवश्यक तयारी पूरा भएको र दस्तावेज छपाई बाँकी रहेको जानकारी दिनुभएको छ । केन्द्रीय कमिटीपछि पार्टीले गाउँगाउँमा नेता परिचालन गर्ने तयारी गरेको छ । साथै सात प्रदेशमा सभागरी पार्टी एकताको सन्देशका साथै सरकारका कामको प्रचार गर्नेछ ।