काठमाडौं, माघ १३ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आफूविरुद्ध सडकमा भइरहेको विरोध प्रदर्शनलाई लोकतान्त्रिक पद्धतिभित्रको नियमित प्रक्रियाको संज्ञा दिनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिई सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेपछि सभामुख सापकोटाले यस्तो बताउनु भएको हो ।
सभामुख सापकोटाले अदालतमा बिचाराधिन रहेको विषयमा बोल्नु परिपक्वता नहुने टिप्पणी पनि गर्नुभयो । ‘तपाईंको बारेमा बाहिर प्रश्न उठेका छन नि ? सभामुख नबनेर सत्य निरुपण तथा मेलमिलापको कामलाई सहयोग गरेको भए हुन्थ्यो जस्तो लाग्दैन ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा सापकोटाले यस्तो धारणा राख्नुभयो । ‘अदालतमा भएको विषयमा बोल्नु परिपक्वता र बुद्धिमानी हुँदैन । बाहिर उठेका प्रश्नहरु निरुपण हुँदै जानेछ । यो त लोकतान्त्रिक पद्धतिमा चलिरहने प्रक्रिया हो,’ सभामुख सापकोटाले भन्नुभयो ।
उहाँले सार्वजनिक महत्वका विषयलाई प्राथमिकतामा राखेर आफू अघि बढ्ने प्रतिबद्धता पनि जनाउनु भयो । सदनमा दर्ता भएका विधेयकहरु अध्ययन गरेर प्राथमिकताका आधारमा अघि अघि बढाउने सभमुख सापकोटाको भनाई छ । ‘सभामुखमा निर्वाचित भएपछि हतार हतार शुभकामना लिन प्रधानमन्त्री सामु दौडिएर जानुले कतै सरकार संसदप्रति उत्तरदायी हुँदैन कि ?’ भन्ने प्रश्नमा पनि उहाँले सापकोटाले भने, ‘आफूलाई सभामुख बनाउने पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रीसँग शुभकामना लिनु स्वाभाविक हो। त्यसमा अन्यथा मान्नु पर्दैन ।’
अदालतमा भएको विषयमा बोल्नु परिपक्वता र बुद्धिमानी हुँदैन । बाहिर उठेका प्रश्नहरु निरुपण हुँदै जानेछ । यो त लोकतान्त्रिक पद्धतिमा चलिरहने प्रक्रिया हो,’ सभामुख सापकोटाले भन्नुभयो
सभामुख सापकोटाले एमसीसीका बारेमा बहस छेडिएकाले यसलाई अनुमोदन गर्न हतार गर्न नहुने बताउनु भयो । ‘एमसीसीबारे बहस छेडिएको छ । जब बहस छेडिन्छ, निचोडतिर पुग्छ । अध्यनन गर्दै जाउँ न सबैले । यसलाई अहिले किन हतार गर्नुपर्यो र ?’ सापकोटाले हिजोसम्म आफू नेकपाको सांसद र नेता भए पनि अब सबैको साझा भएकोले त्यसैअनुसार काम गर्ने बताउनु भयो । आफूलाई प्रतिपक्षले पनि स्वीकार गरेकाले सबै दललाई विश्वासमा लिएर अगाडि बढ्ने उहाँको अठोट थियो ।
उहाँले प्रतिनिधिसभामा दर्ता भएको ‘कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीरण गर्न बनेको विधेयक’ लाई सदनमा पठाउन हस्ताक्षर गरेर सभामुख पदको पदभार सम्हाल्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्