जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार ०९:३६

४६ पदमा मात्र उपनिर्वाचन हुने, आयोगले तयारी थाल्दै


काठमाडौंँ ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभा सदस्य गरी हालसम्म रिक्त ४६ पदमा मात्रै उपनिर्वाचन हुने भएको छ । अब स्थानीय तहको उपनिर्वाचन हुँदा वडाध्यक्ष पदसम्म मात्रै उपनिर्वाचन हुने भएकाले थोरै पदमा उपनिर्वाचन हुन लागेको हो । प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्षरउपाध्यक्ष र वडाअध्यक्षको मात्रै उपनिर्वाचन हुने कानुनी व्यवस्था छ । उपनिर्वाचन कहिले हुने भने टुङ्गो लागिसकेको छैन ।

स्थानीय तहमा वडा सदस्य, महिला सदस्य, दलित सदस्य, कार्यपालिका सदस्य र जिल्ला समिति सदस्य गरी नौ सयभन्दा बढी पद रिक्त भए पनि ती पदमा उपनिर्वाचन नहुने भएको हो । निर्वाचन आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले सरकारबाट उपनिर्वाचनको मिति घोषणा भएमा उपनिर्वाचन गराउन आयोग तयार रहेको बताउनुभयो । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारबाट उपनिर्वाचनको मिति घोषणा भएमा त्यसका लागि आवश्यक सबै तयारी गर्न कर्मचारीहरुलाई निर्देशन दिइसक्नु भएको जानकारी पनि आयोगले दिएको छ । आयोगका अनुसार, गण्डीकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २ बाट निर्वाचित रवीन्द्र अधिकारको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो पद रिक्त छ । अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्थ्यो ।

यसैगरी, प्रदेशसभा सदस्यत्रय हरिशरण लामिछाने, टेकबहादुर घर्ती, उत्तरकुमार ओलीको निधनपछि प्रदेशसभामा तीन पद रिक्त छन् । प्रदेश ३ का भक्तपुरका लामिछाने, गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाका टेकबहादुर घर्ती र प्रदेश ५ को दाङका उत्तरकुमार ओलीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उहाँहरू तीनैजना प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुुनुुहुन्थ्यो । स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको पनि निधन भएका कारण उपनिर्वाचन हुन लागेको हो ।

यसैगरी, ७७ जिल्लामा गरी ३८ वडा अध्यक्षको पद रिक्त छन् । कार्यकारी प्रमुख नहुँदा त्यहाँका बासिन्दाले सरकारी सेवा सहज तरिकाले पाउन सकेका छैनन् । निर्वाचन हुने पदमध्ये ३६ जनाको त निधन भएका कारण पद रिक्त छ । संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बमबहादुर घले वैदेशिक रोजगारमा गएका कारण र रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ७ का अध्यक्ष धर्मराज यादव निलम्बनमा परेका कारण वडा अध्यक्ष पद खाली छ ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष संजयकुमार मण्डलले वडा अध्यक्ष पदबाट राजीनामा दिएपछि सो पद खाली छ । त्यसैगरी, स्थानीय तहमा निर्वाचनमा कतिपय पदमा उम्मेदवारी नै नपरेका, निर्वाचित भएर पनि निधन भएका र अन्य विविध कारणले रिक्त भएका विभिन्न स्थानमा गरी स्थानीय तहमा कम्तीमा ९४४ पद रिक्त भए पनि वडा अध्यक्षभन्दा माथिल्लो पदमा मात्रै उपनिर्वाचन हुने छ ।

वर्षाअघि उपनिर्वाचन हुने सम्भावना कम

नयाँ आर्थिक वर्षको वार्षिक बजेट यही जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । त्यो भन्दा अगाडि हुने उपनिर्वाचनको मिति घोषणा हुने सम्भावना नै छैन । निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आचारसंहिता लागू हुन्छ ।
निर्वाचनका लागि विद्यमान निर्वाचन कानुनमा आयोगलाई १२० दिनको समय प्रदान गरिएको छ । जेठ १५ पछि निर्वाचनको मिति घोषणा हुँदा वर्षा सुरु भइसक्ने भएको कात्तिक अन्तिम वा मंसिरको पहिलो साताभन्दा अगाडि उपनिर्वाचन हुने सम्भावना टरेको छ ।

रिक्त पद सङ्ख्या

प्रतिनिधिसभा सदस्य १
प्रदेशसभा सदस्य ३
नगरप्रमुख १
गाउँपालिका अध्यक्ष ३
वडाध्यक्ष ३८
जम्मा ४६