जनता टाइम्स

१८ माघ २०७६, शनिबार ११:००

नेपाली विद्यार्थीको जिवन रक्षाको ग्यारेन्टी गर्छौं : चीन


काठमाडौं, माघ १८

चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको रक्षाका लागि आश्वस्त रहन आग्रह गरेको छ । प्रभावित क्षेत्रमा रहेका नेपालीका विषयमा कुरा उठिरहेका बेला चिनले शनिवार जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको हो ।

नेपालस्थित चिनियाँ दूतावासले शनिबार जारी गरेको प्रेस विज्ञप्ति भनिएको छ, ‘विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन् । उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ ।’

चीनको हुपेई प्रान्तको वुहान भन्ने स्थानबाट कोरोना भाइरस फैलिएको थियो । महामारी नियन्त्रणका लागि र विदेशीहरुसँग समन्वय गर्नका लागि आपतकालीन संयन्त्र स्थापना गरिएको जानकारी दिँदै दूतावासले भनेको छ, ‘हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं । चीन सरकारले अन्तर्राष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ ।’

विदेशी नागरिकहरुको स्वास्थ्य सुनिश्चित गर्नका लागि हरसम्भव प्रयास गर्ने र सबै पक्षको जायज चिन्ता दूर गर्ने दूतावासको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ, ‘कृपया विश्वस्त हुनुस् चीनले सबैको हितको रक्षाका लागि सक्रिय कदम उठाइरहने छ ।’

नेपाली पक्षले कोरोना भाइरसको महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग समन्वय गरेर चालेका कदमहरुको चीनले प्रशंसासमेत गरेको छ । यदि आवश्यक भएमा नेपाली पक्षले काठमाडौंस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग पनि यसबारेमा कुराकानी गर्न सक्ने दूतावासले जनाएको छ ।