जनता टाइम्स

१८ माघ २०७६, शनिबार १८:३९

महिला मन्त्रालयको क्वीक एक्शनले जोगियो दुई सुत्केरीको ज्यान, हेलिकोप्टरबाट यसरी गरियो उद्धार


बाजुरा, माघ १८ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको क्वीक एक्शनको कारण आज बाजुराका दुई सुत्केरी महिलाको ज्यान जोगिएको छ । बाजुराको दुर्गम गाउँ साप्पाटा र गोत्रीमा सुत्केरी महिलाको ज्यान जोखिममा परेको सूचना पाएलगत्तै मन्त्रालयले तत्कालै नेपाली सेनाको हेलिकोप्टर पठाएर उद्धार गरी ज्यान जोगाएको हो ।

सो गाउँबाटबाट सेनाको हेलिकोप्टरद्वारा आज एकै दिन दुई सुत्केरीको उद्धार गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिका–२ फयाल गाउँकी गीता विक र जगन्नाथ गाउँपालिका–५ बेहरडाँडागाउँकी २१ वर्षीया सिर्जना सार्कीको एकै दिन हेलिकाुप्टरमार्फत उद्धार गरिएको हो ।
साप्पाटा फयालगाउँकी गीताले घरमै बच्चा जन्माएको र स्वास्थ्य संस्थामा नगएकाले उच्च रक्तश्राव भएका कारण गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने भएपछि हेलिकोप्टरमार्फत नेपालगञ्ज उपचारका लागि लगिएको जिल्ला अस्पतालका प्रमुख रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो । चौथो सन्तानका रूपमा छोराको जन्म दिनुभएकी गीताको अत्यधिक रक्तश्रावका कारण आमा र छोराको ज्यान जोखिममा परेको थियो ।

त्यसैगरी सिर्जनाको यही माघ १५ गतेदेखि लामो ब्यथा लागेको र पहिलो गर्भवती भएकाले पाठेघरको मुख नखोलिँदा समस्या भएका कारण उहाँलाई पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको गोत्री सामुदायिक स्वास्थ्य एकाइका प्रमुख अमर बुढाले जानकारी दिनुभयो । उहाँलाई पनि उपचारका लागि नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा खबर पाइसकेपछि प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपाने र जिल्ला अस्पतालका प्रमुखको समन्वय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा दुवै सुत्केरीको उद्धार गरिएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभयो । स्वामीकार्तिकका अध्यक्ष चीरञ्जीवी शाही र जगन्नाथका अध्यक्ष कालीबहादुरले खबर गरेलगत्तै आफूले मन्त्रालयमा फोन गरेको र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तत्कालै नेपाली सेनाको हेलिकोप्टर पठाएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

‘महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले क्वीक एक्शन गरेर तत्कालै हेलिकोप्टर पाठाएर उद्धार गरिएको हो,’ प्रजिअ न्यौपानेले भन्नुभयो । मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै मन्त्री पार्वत गुरुङले उद्धारको सूचना आएपछि एक सेकेन्ड पनि बिलम्ब आफूलाई स्वीकार्य नहुने निर्देशन दिनुभएको थियो । मन्त्री गुरुङकै क्वीक एक्शनले आज दुई महिलाको तत्कालै उद्धार भएको हो ।