जनता टाइम्स

२१ माघ २०७६, मंगलवार ०८:३८

विश्वको दुई करोड मानिसलाई क्यान्सर रोग : नेपालमा बर्सेनि महिलामा दुई हजार तीन सय ३२ जनामा क्यान्सर


काठमाडौं, माघ २१ ।  मङ्गलबार विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाइँदै छ । ‘म हुँ र म गर्न सक्छु’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

समयमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आएको छ । विश्वको तथ्याङ्क हेर्दा एक वर्षमा झण्डै दुई करोड मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ ।  नेपालमा बर्सेनि महिलामा दुई हजार तीन सय ३२ जनामा क्यान्सर लाग्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । तीमध्ये एक हजार तीन सय ६७ जनाको ज्यान जाने गरेको छ ।

नेपालमा झण्डै ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ । ८० दशमलव ९ प्रतिशत क्यान्सरका बिरामी भने अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल जाने गरेका छन् । नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् । प्रारम्भिक चरणमा नै उपचार गरे क्यान्सर निको हुन्छ ।

क्यान्सरका १० हजार बिरामीको लागि कम्तीमा एउटा ुरेडिएशन थेरापी मेसिनु हुनुपर्छ तर नेपालमा पर्याप्त छैन । नेपाल जम्मा आठदेखि नौ वटा मात्रै रेडियशन मेसिनरहेको छ । आवश्यक मात्रामा उपकरण नहुँदा पनि क्यान्सरको उपचारमा समस्या भएको क्यान्सर रोग विशेषज्ञ डाक्टर सन्ध्या चापागाईँले बताउनु हुन्छ ।

त्यस्तै विश्वमा बालबालिकालाई ब्रेन ट्युमर धेरै देखिएको छ भने नेपालमा आँखामा लाग्ने रेटिनो ब्लास्ट को समस्या धेरै देखिने गरेको कान्तिबाल अस्पतालका डाक्टर सुधिर सापकोटाले जानकारी दिनुभयो ।

चुरोट र सूर्तीजन्य पदार्थ सेवन गरेमा क्यान्सर लाग्ने खतरा धेरै हुने चिकित्सकहरु बताउँछन् । क्यान्सर लागेर ज्यान गुमाउनेमध्ये २२ प्रतिशत धुम्रपानका कारण भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचबीओ) ले जनाएको छ ।

विकसित देसमा भन्दा विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढ्दै गएको सङ्गठनले जनाएको छ ।