जनता टाइम्स

२१ माघ २०७६, मंगलवार १५:०४

मुलुकभर दुई हजार ९१ वटा पुल निर्माणाधीन अवस्थामा, १८४ ओटा पूल निर्माण अलपत्र


काठमाडौं, माघ २१ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले देशभरका नाजुक पुलहरूको प्रतिवेदन पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

डिजाइनमा समस्या भएका, निर्माण व्यवसायीका कारण अलपत्र परेका र काबुबाहिरको अवस्थामा पुगेका पुलहरूको विवरण तथा समस्या समाधानका कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । पुलहरुको बिषयमा विस्तृत छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । त्यसैगरी निर्माणाधीन अवस्थामा रहेका कतिपय पुलहरूको डिजाइनमा नै समस्याग्रस्त देखिएकाले आगामी दिनमा निर्माण गरिने पुलहरू ‘डिजाइन एन्ड विल्ड’ प्रविधिबाट अगाडि बढाउनसमेत समितिले मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै निर्माण प्रक्रियामा रहेका निर्माणाधीन रही बजेटको अभावमा अलपत्र अवस्थामा रहेका पुलहरूको अवस्था यकिन गरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी स्रोत जुटाई सम्पन्न गर्न समितिले सो मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अहिले मुलुकभरि दुई हजार ९१ वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन । ती पुलहरूमध्ये ९६ वटा पुल ठेकेदारका कारण, ३७ वटा संस्थागत (कार्यालय) कारण र ५१ वटा पुल आयोजना काबुबाहिरका कारण रहेको छ ।