जनता टाइम्स

१९ चैत्र २०७६, बुधबार ०८:१४

भारतमा ९६ वर्षीय श्रीमान् र ८८ वर्षीया वृद्ध दम्पती जिते कोरोनालाई


काठमाडौं,  चैत १९ भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित वृद्ध दम्पती उपचारपछि निको भएका छन् । ९६ वर्षीय श्रीमान् र ८८ वर्षीया श्रीमती उपचारपछि निको भएका हुन।

२० दिनदेखि भारतको कोट्टयम मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेको दम्पतीको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको डाक्टर आर पी रेनविनले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योसँगै वृद्ध उमेरमा कोरोनालाई जित्ने यो दम्पती दोस्रो बनेको छ । यसअघि इटालीमा ९५ वर्षीया एक वृद्धा उपचारपछि निको भएकी थिइन् । सामान्यतया कोरोना भाइरस ६० वर्षभन्दा माथिको उमेर समूहलाई खतरा मानिन्छ । उमेरसँगै मधुमेह वा मुटुको समस्या भएका बिरामीलाई कोरोना सङ्क्रमण खतरनाक मानिन्छ ।
अहिलेसम्म आठ लाख ५६ हजार पाँच सय ५१ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । एक लाख ७७ हजार एक सय ३२ जना उपचारपछि निको भएका छन् भने ६ लाख ३७ हजार तीन सय २६ जनाको उपचार चलिरहेको छ । ४२ हजार ९६ जनाको ज्यान गएको छ ।

अहिलेसम्म इटलीमा सबैभन्दा धेरै १२ हजार चार सय २८ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै इटालीमा आठ सय ३७ जनाको ज्यान गएको हो ।

यस्तै स्पेनमा सात सय ४८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या आठ हजार चार सय ४६ पुगेको छ ।

अमेरिकामा पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घण्टामा अमेरिकामा सात सय ९ जनाको ज्यान गएको छ । योसँगै अमेरिकामा कोरोना भाइरसका कारण तीन हजार आठ सय ५० जनाको ज्यान गएको छ । अमेरिकामै सबैभन्दा धेरै एक लाख ८७ हजार तीन सय २१ जनामा कोरोना पुष्टि भएको छ ।

अमेरिकापछि फ्रान्समा चार सय ९९ जना थपिएसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन हजार पाँच सय २३ जना पुगेको छ । कोरोना पहिलो पटक देखिएको चीनमा भने ज्यान गुमाउनेसँगै नयाँ सङ्क्रमितको सङ्ख्या पनि घट्दो छ । चीनमा अहिलेसम्म तीन हजार तीन सय पाँच जनाको ज्यान गएको छ भने ८१ हजार पाँच सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । ७६ हजार ५२ जना उपचारपछि निको भएका छन् ।