जनता टाइम्स

२२ चैत्र २०७६, शनिबार १०:५७

त्यो राष्ट्रका लागि ठुलो दुर्भाग्य हुन्छ : शंकर पोखरेल


काठमाडौं, चैत २२ । प्रदेश ५ का मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शंकर पोखरेलले पछिल्लो समय षडयन्त्रपूर्ण र नियोजित समाचारहरुवाट समाज नै भ्रमित हुने अवस्था सिर्जना भएको भन्दै गम्भीर चिन्ता जनाउनु भएको छ । नेता पोखरेलले यस्तो नियोजित अफवाहलाई चिर्न नसके मुलुककै लागि ठुलो दुर्भाग्य हुने चेतावनीसमेत दिनुभएको छ ।

यस्तो छ पोखरेलको भनाई

दासढुंगा हत्याकाण्डको केही समय पछि तत्कालिन समयमा प्रकाशित हुने जनधारणणा साप्ताहिकमा उक्त हत्याकाण्डको रहस्य उजागर गर्ने नाममा काल्पनिक कथा रचेर तत्कालिक एमाले नेतृत्वलाई वदनाम गर्ने नियोजित षडयन्त्र रचिएको थियो । पछि त्यस नियोजित षडयन्त्रको पटाक्षेप भयो र पत्रिकाको पनि अवसान भयो । यतिवेला कतिपय पत्रिका र अनलाईनहरुका नियोजित समाचारहरुको श्रृंखला हेर्दा सरकार विरुद्ध त्यही फर्मुलाको प्रयोग हुदैछ जस्तो देखिन्छ ।

कुनै पनि कामका सन्दर्भमा जोडिएर उठेका प्रश्न र आशंकाको जवाफ जिम्मेवार व्यक्तिहरुले दिनुनै पर्दछ । तर षडयन्त्रपूर्ण र नियोजित समाचारहरुवाट समाज नै भ्रमित हुने अवस्था सिर्जना भयो भने त्यो राष्ट्रका लागि ठुलो दुर्भाग्य हुन्छ । आशंका र भ्रम निवारण गरौ, कमजोरी छन् भने सुधार गरौ । तर नियोजित र षडयन्त्रपूर्ण ढंगले सिर्जित कथामा आधारित कुप्रचारवाट आफु पनि जोगियौ र समाजलाई पनि त्यसको कुप्रभाववाट जोगाउ । अन्यथा यस प्रकारको नियोजित कूप्रचारको प्रभावले कोरोनाका विरुद्धको हाम्रो संघर्ष समेत प्रभावित हुने खतरा देखिदैछ ।