जनता टाइम्स

२५ चैत्र २०७६, मंगलवार ०६:५०

कोरोनाबाट संक्रमितको संख्या १३ लाख ४७ हजार नाघ्यो , २ लाख ७८ हजार उपचार पछि निको


 

काठमाडौं, चैत २५ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय ५० पुगेको छ भने संक्रमितको संख्या १३ लाख ४४ हजार ९ सय पुगेको छ ।

संक्रमित मध्य २ लाख ७८ हजार ३ सय ३२ जना उपचार पछि निको भएका छन् । कोरोनाबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या १० हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ८६९पुगेको छ । एकै दिन २८ हजार नयाँ संक्रमित फेला परेपछि संक्रमितको संख्या तीन लाख ६६ हजार नाघेको छ ।

अहिलेसम्म अमेरिकामा करिब १९ हजार संक्रमित निको भइसकेका छन् ।चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ । बिरामीको संख्या बढेसँगै अमेरिकामा स्वास्थ्य सामग्रीको अभाव चुलिन सक्ने विश्लेषकहरुको दावी छ ।

अमेरिकाको न्युयोर्क राज्य कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको राज्य हो । न्युयोर्कमा अहिलेसम्म समग्र संक्रमितको संख्या एक लाख ३० हजार नाघिसकेको छ । न्युयोर्कमा अहिलेसम्म ४ हजार ७ सय बढी मृत्यु भइसकेको छ ।