जनता टाइम्स

२५ चैत्र २०७६, मंगलवार २२:०१

जनमत सर्वेक्षणमा ६२ प्रतिशत जनताले भने : कोरोना रोकथाममा सरकारको कामबाट सन्तुष्ट छौं


काठमाडौं, चैत २५

कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट जनतालाई जोगाउन सरकारले विभिन्न कदमहरु चालेको छ । तर, प्रमुख प्रतिपक्षीसहित केही समुहले सरकारको चर्को आलोचना गर्दै असफल भएको दावी गर्दै आएका छन् । तर, जनमतले भने बेग्लै तथ्य देखाएको छ ।

शेयरकास्ट नेपालले गरेको चैत २२ देखी २४ गतेसम्म गरेको सर्वेक्षणमा ६२.६ प्रतिशत जनताले सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन् । एकदमै सन्तुष्ट भन्ने पनि ८ दशमलव ६ प्रतिशत छन् । २ दशमलव ९ प्रतिशत जनता एकदमै असन्तुष्ट छन् भने ९ दशमलव ४ प्रतिशत जनता असन्तुष्ट छन् । न सन्तुष्ट, न असन्तुष्ट १४ दशमलव २ प्रतिशत र भन्न नचाहने २ दशमलव १ प्रतिशत छन् ।

शेयरकास्टका अनुसार कोभिड–१९ सर्वेक्षण का लागि १५०० जनालाई छनोट गरिएको थियो । छनौटमा परेका १५०० जना उत्तरदाताहरु मध्ये १११० जनाले कोभिड–१९ सँग सम्बन्धित विषयमा उनीहरुको धारणा, बुझाई र अभ्यासका वारेमा सर्वेक्षण गरिएको थियो । शेयरकाष्ट इनिशियटिभ नेपालबाट तालिमप्राप्त १२ जना गणकहरुले उत्तरदाताहरुसँग प्रत्यक्ष टेलिफोन अन्तर्वार्ता गरि यस कोभिड–१९ सर्वेक्षण का लागि तथ्याकं संकलन गरेका हुन् ।

जसमा ५० दशमलव ४ प्रतिशत पुरुष र ४९ दशमलव ६ प्रतिशत महिला सहभागी भएका थिए । सबैभन्दा बढि तराई क्षेत्रबाट ४७ दशमलव ८० र पहाडी क्षेत्रबाट ४३ दशमलव १० प्रतिशत एंव बाँकी हिमाली जिल्लाबाट सहभागी भएका थिए ।