जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १४:४५

हुवावे मोबाइलमा गुगलले सेवा नदिने


काठमाडौँ जेठ ६,

चिनियाँ मोबाइल कम्पनी हुवावेमा गुगलले सेवा नदिने बताएको छ । बीबीसीका अनुसार अब हुवावेका नयाँ स्मार्टफोनहरूले गुगल एप तथा सेवामा पहुँच पाउने छैनन् ।

अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार नयाँ हुवावे स्मार्टफोनहरू गुगलका केही सेवाबाट वञ्चित हुनेछन् । उक्त समाचार संस्थाका अनुसार हुवावेका नयाँ स्मार्टफोनहरूले गुगलको एप स्टोर तथा उसको जिमेल जस्ता सेवामा अब पहुँच पाउने छैनन् । गुगलका प्रवक्ताले अमेरिकी सरकारको पछिल्लो निर्णय स्वीकार गर्ने क्रममा गुगल रहेको बताए ।

हुवावेले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । रोयटर्सले नाम नखुलाइएको सूत्रलाई उद्धृत गर्दै कस्ता कस्ता सेवाबाट हुवावेलाई वञ्चित गराइने भन्ने बारे गुगल अझै छलफलरत छ । तर, हुवावेले अझैपनि ओपन सोर्स लाइसेन्समार्फत उपलब्ध एन्ड्रोइड अपरेटिङ सिस्टम भने प्रयोग गर्न सक्नेछ ।

बुधवार ट्रम्प प्रशासनले ह्वावेईलाई कालो सूचीमा राख्ने निर्णय गर्दै अनुमति विना उसलाई कुनै प्रविधि बेच्न अमेरिकी कम्पनीहरूमाथि रोक लगाएको थियो ।

विश्वभर कैयौँ सरकारहरूले सुरक्षा चिन्ता दर्साउँदै नौलो फाइभजी मोबाइल सञ्जाल विकासमा हुवावेका उपकरण प्रयोग गर्न रोक लगाएका छन् । हालसम्म ब्रिटेनले हुवावेलाई औपचारिक प्रतिबन्ध लगाइसकेको छैन ।

बीबीसीका प्रविधि सम्पादक लियो केलियोन भन्छन् अल्पकालका निम्ति हुवावेलाई गुगलको निर्णयले क्षति पुग्नेछ । उनी भन्छन्– गुगलको प्लेस्टोरमा पहुँच नभएको स्मार्टफोन किन्न उपभोक्ताहरू हिच्किचाउने छन् ।

तर दीर्घकालमा भने स्मार्टफोन विक्रेताहरूलाई गुगलको अपरेटिङ सिस्टमको भरपर्दो विकल्प निर्माण गर्नेतर्फ गम्भीरतापूर्वक सोच्न यसले बाध्य बनाउन सक्छ । ह्वावेईको हकमा उसले अमेरिकी प्रविधिबाट आफू वञ्चित हुन सक्ने स्थितिको आकलन गरिसकेको जस्तो देखिन्छ ।

उसका स्मार्टफोन आफ्नै स्वामित्व भएका प्रोसेसरबाट सञ्चालित हुँदैछन् तथा गत वर्ष सो कम्पनीका एक वरिष्ठ अधिकारीले छुट्टै अपरेटिङ सिस्टम बनाएको बताएका थिए । तर, जे होस् यो निर्णयले ह्वावेईको सामसुङलाई जितेर सन् २०२० मा नम्बर एक मोबाइल कम्पनी बन्ने लक्ष्यमा भने धक्का पुग्नेछ।