जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १८:२६

नयाँ बजेटले विकासको गियरलाई अझै बढाउने प्रधानमन्त्री ओलीको घोषणा


धादिङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने घोषणा गर्नुभएको छ । धादिङको गल्छीमा आज मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “देश विकासको गति दुई गियरमा छ भने तीनमा पु¥याउछ । तीनमा छ भने चारमा पु¥याउछ ।” प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथर देखि अन्तिम विन्दु बैतडीसम्म सुचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताउनुभएको छ । “हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सुचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ । ”

प्रधानमन्त्री ओलीले सरकारले विकास,शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको बताउनुभएको छ । “सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ ” प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक बृद्धिदर यसै बर्ष भएको बताउनुभएको छ । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “हामी केही बर्ष भित्रै नेपाललाई तिव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।