जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार २०:४१

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १ अर्ब ६१ करोड दिने


काठमाडौं, असोज २४ । अस्ट्रेलिया सरकारले नेपालको बाढीपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि थप १ अर्ब ६१ करोड ७५ लाख रुपैयाँ सहायता उपलब्ध गराउने भएको छ।

स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अस्ट्रेलियाले थप १ करोड ५० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने जानकारी दिनुभयो।

यसअघि घोषणा गरिएको १ करोड १० लाख अस्ट्रेलियन डलरसहित नेपालका लागि अस्ट्रेलियाको कुल सहायता २ करोड ६० लाख अस्ट्रेलियन डलर पुगेको छ। यो रकम नेपाली रुपैयाँमा करिब २ अर्ब ८० करोड ३६ लाख बराबर हुन्छ।

अस्ट्रेलिया भ्रमणका क्रममा विदेशमन्त्री पेन्नी वोङसँग भएको द्विपक्षीय वार्तामा बाढीपछिको पुनर्निर्माण, पूर्वसूचना प्रणालीको आधुनिकीकरण र जलवायु सहकार्यबारे छलफल भएको मन्त्री खनालले बताउनुभयो।

वार्तामा उहाँले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको भिसा प्रक्रिया सहज बनाउन र छात्रवृत्तिको कोटा बढाउन पनि आग्रह गर्नुभएको थियो।

यसैगरी, फिजी र टुभालुमा आयोजित बैठकमा मन्त्री खनालले आगामी कोप–३१ का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै अनुदानमा आधारित जलवायुवित्त र हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।