काठमाडौं, असार २६ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकामध्ये ९९.७ प्रतिशतमा कुनै लक्षण नदेखिएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार एक हजार जनामा तीन जना अर्थात ०.३ प्रतिशत संक्रमितमा मात्रै कोभिड १९ को लक्षण देखिएको छ । लक्षण नदेखिएका व्यक्तिहरू सामान्यजस्तै अवस्थामा हुने भएकाले प्रयोगशाला परीक्षण नगर्दासम्म संक्रमणबारे थाहा हुँदैन ।
‘पछिल्लो तथ्यांकले मुलुकमा प्रायःजसो संक्रमित लक्षणविहीन रहेको स्पष्ट भएको छ,’ स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भन्नुभयो, ‘हामीकहाँ एसिम्प्टोम्याटिक (लक्षणविहीन) केस सबैभन्दा बढी छ ।’ पाण्डेका अनुसार लक्षण नभएकाहरूबाट अन्य व्यक्तिमा रोग सर्न सक्ने जोखिम हुन्छ । लक्षण नभएकाले समेत कोरोनाको जोखिम समूह ठानिएका बूढापाका, रोग प्रतिरोधक क्षमता कम भएका, सुत्केरी र दीर्घरोगीमा संक्रमण सार्न सक्छन् । उहाँ बालबालिका, युवा र सक्रिय उमेर समूहकाले आफ्नो घर, छरछिमेक र समुदायमा कोरोनाको जोखिममा रहेकालाई संक्रमण हुन नदिन विशेष सावधानी अपनाउनुपर्ने बताउनु हुन्छ। सबैभन्दा सक्रिय रहने गरेको उमेर समूहमै न्यून मात्रामा कोभिडको लक्षण देखिएको छ । नेपालमा ५४ वर्षसम्मको उमेर समूहका व्यक्तिमा अत्यन्त न्यून लक्षण देखिएको हो । करिब ९१ प्रतिशत संक्रमित १५ देखि ५४ वर्ष उमेर समूहका छन् ।
८५ वर्षमाथिका संक्रमित ४ जना मात्रै छन् । तीमध्ये एक जनामा मात्रै लक्षण देखिएको थियो । ती व्यक्तिको मृत्यु भइसकेको छ । बाँकी रहेका तीन जनामा कुनै लक्षण देखिएको थिएन । यस्तै ७५ देखि ८४ वर्ष सम्मका २५ जना संक्रमित रहेकामा एक जनामा मात्रै लक्षण देखिएको छ । विश्वमा लक्षण नदेखिने संक्रमणका बारेमा विभिन्न अध्ययन–अनुसन्धान जारी रहे पनि यसको कारणका रूपमा केही खास कुराहरू पहिचान भएको वा हुने प्रक्रियामा समेत छ । चिकित्सकका अनुसार मुलुकमा छुट्टै अध्ययन नभए पनि क्रस इम्युनिटी, जेनेटिक भेरिएसन, रक्त समूह, लिंग, खानपान, प्रभावित उमेर समूह, भाइरल लोड आदि लक्षण नभएको संक्रमण बढी हुनुको कारक हुन सक्छ । यस्तै बीसीजी र रुबेलाविरुद्धको खोपको अवस्था, शरीरमा भिटामिन डीको स्तर, शारीरिक सक्रियता आदिले कोभिडको गम्भीरतालाई निर्धारण गर्छ ।
पछिल्लो समय संसारभर नै कोभिडको भाइरस कमजोर हुँदै गइरहेको दाबी गरिएको छ । कोरोनाको मृत्युदर विश्वभर नै घटिरहेको छ । ‘पछिल्लो समय यो भाइरसको म्युटेसन हुँदै कमजोर बन्दै गइरहेको अवस्था विश्वभरि नै देखिएको हो । कोरोना संक्रमितमा देखिने मुख्य लक्षण सुक्खा खोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या, अक्सिजन कम हुनु, स्वाद र गन्ध थाहा नहुनुलगायत छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आएका ९२ जना संक्रमितमध्ये समस्या देखिएका केही व्यक्तिमा यस्तो लक्षण देखिएको थियो । टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाका अनुसार पछिल्लो समय अस्पताल आउने अधिकांश व्यक्तिमा लक्षण देखिएको छैन ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकलनअनुसार विश्वमा करिब ४० प्रतिशत केस लक्षणविहीन हुन सक्छ । यस्तै अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार विश्वमा करिब २५ प्रतिशत केस एसिम्प्टोम्याटिक हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्