जनता टाइम्स

२६ असार २०७७, शुक्रबार १४:३७

नयाँ पत्रिकाका कार्यकारी निर्देशक थापाको कम्पनीले छल्यो कर, यसरी भयो खुलासा


काठमाडौं, असार २६

नयाँ पत्रिका दैनिकका कार्यकारी निर्देशक सुशिल थापाको कम्पनी जिमी ग्रुपले कर छलेको भन्दै मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले फर्जी कारोबार देखाएर कर छली गरेको भन्दै जिमी ग्रुपविरूद्ध असार २१ गते १८ करोड ३३ लाख बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

झुठा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरी राजश्व छली गरेकाले काठमाडौ महानगरपालिका–४ ठेगाना भएको जिमी ग्रुप प्रालिविरूद्ध विभागले मुद्दा दायर गरेको जानकारी गराएको छ । विभागले बिगो असुल उपर गरी कम्पनीका सञ्चालकहरूलाई जरिवाना र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो । यो ग्रुपका अध्यक्ष सुशील थापा हुन् । उनी नयाँ पत्रिका दैनिकका कार्यकारी निर्देशक पनि छन् । उनीसँगै जिमी ग्रुपको सञ्चालकमा जीवन चलाउने र मिन्दु शेर्पा पनि छन् ।

यसरी गर्यो ठगी

यो ग्रुपले नेपालमा चामल, दाल, तेलको आयात तथा वितरण गर्ने गरेको छ । विभागले जिमीविरूद्ध तीन ओटा अभियोग लगाएको छ । राजश्व छलीसँग सम्बन्धित यस्ता अभियोगमा मूल्य अभिवृद्धि कर बिलको दुरूपयोग गरी छली गरेको, आयकर छलेको तथा लाभकर छली गरेको उल्लेख गरिएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा बताइएको छ ।

अध्यक्ष थापाले भने आफूले यसबारे मुद्दा परेको थाहा पाएको तर यसमा आफ्नो कुनै कमजोरी नभएको प्रतिक्रिया दिएका छन् । उनले आफुले नभई आपूर्तिकर्ताले फसाएको दावी गरेका छन् ।

विभागका अनुसार अहिलेसम्म भेटिएका तथ्यबाट अभियोग पुष्टि भएपछि मुद्दा तयार पारेको र कसुर देखिएकाले सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको जानकारी दिएको छ । विभागले जारी गरेको प्रेस विज्ञप्तिमा कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठा तथा नक्कली भ्याट बिलमात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर छलेको विभागले आरोप लगाएको छ । विभागका अनुसार कम्पनीले आफ्नो नाफा न्यून देखाउनका लागि खर्च बढी देखाएको छ । यसरी खर्च देखाउँदा कम्पनीले सक्कली बिल नै पेस गरेको छ । तर कारोबार भने फर्जी देखिएको छ ।

‘जुन बिक्रेताबाट किनेको दाबी गरिएको छ उसले वस्तु बेचेको देखिँदैन । यसरी जिमी ग्रुपले किन्दै नकिकेको वस्तु तथा सेवा खरिद गरेको बिल देखाएर एकातिर मूल्य अभिवृद्धि कर छली गरेको देखिन्छ भने अर्कोतिर खर्च धेरै देखाएर नाफा न्यून हुन आउँदा आयकर पनि छलेको छ’, विभागले प्रष्ट पारेको छ।

अनुसन्धानबाट ५ करोड ९७ लाख ९९ हजार ८२५ रुपैयाँ मूल्य अभिवृद्धि कर छलेको देखिएको विभागले जानकारी दिएको छ । यसमा कम्पनीले सोही बराबरको भ्याट तिरेको बिल देखाएको छ तर त्यस्तो बिलबाट भ्याट भने नेपाल सरकारको राजश्व खातामा देखिएको छैन ।

यसरी भ्याट तिरेर खरिद गरेको भनेर विभागले देखाए पनि सो बराबरको वस्तु तथा सेवा खरिद नगरेकाले आय नै धेरै हुने र जसबाट १० करोड ७९ लाख १९ हजार ११५ रुपैयाँ आयकर छलेको विभागले आरोप लगाएको छ । कम्पनीले १ करोड ५६ लाख ३ हजार ८५६ रुपैयाँ लाभांश कर पनि छली गरेको विभागले उल्लेख गरेको छ ।