जनता टाइम्स

२८ असार २०७७, आईतवार १२:१७

कोरोना परीक्षण शुल्क अवैध रुपमा उठाउने निजी अस्पतालमाथि छानविन सुरु


काठमाडौं, असार २८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण शुल्क अवैध रुपमा उठाउने निजी अस्पतालमाथि छानविन सुरु गर्ने भएको छ । कोरोनाको पिसिआर परीक्षणका नाममा कानुन विपरित स्वाब संकलन गरी अवैध शुल्क उठाउने निजी अस्पताल छानविनको दायरामा आउने भएका छन् ।

त्यस्ता अस्पतालहरुलाई छानविनको दायरामा ल्याउन मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. विकास देवकोटालाई जिम्मेवारी दिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, सचिव लक्ष्मण अर्यालसहितको महाशाखा प्रमुखहरुको बैठकले आज उक्त महाशाखालाई छानविन गर्ने जिम्मेवारी दिएको हो ।

बैठकमा अवैद्य रुपमा स्वाब कलेक्सन गरी शुल्क असुलेको ग्राण्डी इन्टरनेशल अस्पताल धापासी, ह्याम्स अस्पताल धुम्बाराही र नेपाल मेडिकल कलेज अत्तरखेललाई छानविन गरी कारवाही प्रक्रिया अगाडि बढाउने डा. देवकोटाले बताउनुभयो ।