जनता टाइम्स

२८ असार २०७७, आईतवार १८:२९

अबैध मिर्गाैला प्रत्यारोपणमा डाक्टर-जनप्रतिनिधि-कर्मचारीदेखि प्रहरीसम्मको संलग्नता (सूचीसहित)


काठमाडौं, असार २८ । अवैध मिर्गौला प्रत्यारोपणको घटनामा चिकित्सक, जनप्रतिनिधि, कर्मचारीदेखि प्रहरीसम्मको संलग्नता रहेको तथ्य खुलेको छ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले यस्तो तथ्य बाहिर ल्याएको हो ।

ब्यूरोले लामो समय अध्ययन गरी सो अपराधमा संलग्न चिकित्सक, जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका कर्मचारी र प्रहरीसहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले एक बहालवाला र एक निलम्बित प्रहरी अधिकृतसमेत अबैध मिर्गाैला प्रत्यारोपनमा संलग्नता रहेको तथ्इसहित पक्राउ गरेको छ । चितवनको भरतपुर मेडिकल कलेजमा भएको सो घटनामा संलग्नता पाइएपछि प्रहरीले गुल्मी रेसुंगा नगरपालिका २ का प्रहरी सहायक निरीक्षक (असई) भीमप्रसाद ढकाललाई र यसअघि पनि मिर्गौला तस्करीमा मुछिएका निलम्बित प्रहरी नायव निरीक्षक (सई) योगेन्द्रराज थपलियालाई पक्राउ गरेको हो ।

थपलिया यसअघि २०७६ साउनमा काभ्रे बाङ्थलीका विष्णु खड्काको भारतमा लगेर मिर्गौला निकाल्न लागिएको घटनामा पनि संलग्नता रहेको प्रहरीको भनाई छ । चितवनको कलेज अफ मेडिकल साइन्सेजमा नक्कली कागजात खडा गरी विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरी तेस्रो व्यक्तिको मिर्गौला झिकिएको घटना बाहिरिएपछि ब्यूरोले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा प्राप्त प्रमाणका आधारमा १२ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, कलेज अफ मेडिकल साइन्सेज टिचिङ अस्पतालका कानुनी सल्लाहकार रमेश काफ्ले, अस्पतालका प्रमुख सञ्चालन अधिकृतडा. सुप्रभात श्रेष्ठ, अस्पतालमा कार्यरत डा. बालकृष्ण कालाखेती, नोबल अस्पतालका डा. राकेशकुमार वर्मा, भक्तपुरका जमुना राजभण्डारी, भक्तपुर जगातीकी रेश्मा राई, ललितपुर वडा नम्बर ३ का वडाध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालयका तत्कालिन खरिदार नवराज केसी र जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक नवराज केसी रहेका छन । प्रहरीले अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा पक्राउ परेका डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई आज सार्वजनिक गरिसकेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले आइतबार नौ जना र शनिबार चितवनबाट तीन जना डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको हो । अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट ९ र चितवनबाट तीन जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ परेकाहरूमा २ जना महिला छन । यस्तै जनप्रतिनिधिमा ललितपुर महानगर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन रहेका छन ।

अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा गर्ने समूहलाई सघाएको वडाध्यक्ष महर्जनमाथि आरोप छ । महर्जनले नक्कली नाता प्रमाणित गर्ने कागजमा प्रमाणित गरेकोले नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।