जनता टाइम्स

२८ असार २०७७, आईतवार २१:५६

भारतीय मिडियाको ‘सुपर फेक न्युज’प्रति नेपालको ‘कुटनीतिक नोट’


काठमाडौं, असार २८

भारतीय सञ्चारमाध्यममा पछिल्ला केही दिनमा प्रकाशित र प्रशारित ‘सुपर फेक न्युज’का विषयमा सरकारले कुटनीतिक नोट पठाएको छ । सरकारले शुक्रबार नै दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयमा सो नोट बुझाएको छ ।

कुटनीतिक क्षेत्रमा यस्तो नोटको निक्कै ठुलो अर्थ राख्ने गर्दछ । नेपाल र नेपालका राजनीतिज्ञहरूलाई जोडेर प्रसारित आपत्तिजनक सामग्रीको विरोधमा नेपालले भारतलाई ‘कूटनीतिक नोट’ औपचारिक रुपमै दिएको हो । नोटमा केही भारतीय सञ्चारमाध्यमबाट प्रसारित घृणित सामग्रीप्रति भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै ती सामग्रीहरु गलत, आधारहीन र असंवेदनशील भएको तथा नेपाली जनता र नेतृत्वको अपमान गरेको जनाइएको छ ।

‘यस किसिमका सामग्रीलाई लिएर भारती विदेश मन्त्रालयमार्फत भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं, साथै यस्ता सामग्रीले भ्रम सिर्जना गर्नुका साथै सभ्य समाजको सामाजिक मर्यादा र शिष्टाचारको समेत ख्याल नगर्नुका साथै नेपालीको भावना र नेपाली नेतृत्वको व्यक्तित्वमा समेत चोट पुगेको छ’ नोटमा उल्लेख छ ।

नोटमा नेपालले भारतीय मिडियाबाट प्रसारित समाचार सामग्रीहरु आपत्तिजनक र निनन्दीय हुनुका साथै प्रेस स्वतन्त्रताको लक्ष्मण रेखासमेत नाघेको जनाइएको छ । ‘दुई देशबीचको गहिरो र बहुआयामिक सम्बन्ध विशेषगरी समान सार्वभौमिकता, मित्रता र एक–अर्काका रुचि र चासोको पारस्परिक सम्मानमा आधारित छन्, तिनलाई थप सुदृढ बनाउन मिडियाको ठूलो भूमिका हुन्छ, हामी प्रेस स्वतन्त्रताको सम्मान गर्छौं, मिडियाले शिष्टता र मर्यादाको सीमा नाघ्नु हुँदैन,’ नोटमा छ, ‘तर, भारतीय मिडियाबाट प्रेस स्वतन्त्रताको लक्ष्मण रेखा नाघ्ने काम भएको छ ।’

त्यसैगरी नेपालका अर्का मित्र राष्ट्रका प्रतिनिधिलाई अनावश्यक रुपमा विवादमा तान्ने काम भएकामा समेत आपत्ति जनाइएको छ । नेपालका सम्बन्धमा भारतीय मिडियाबाट प्रसारित आपत्तिजनक सामग्रीविरुद्ध तत्काल कदम चाल्न र त्यस्ता सामग्रीले भविष्यमा भारतीय मिडियामा स्थान नपाउने सुनिश्चितता गर्नसमेत नोटमा आग्रह गरिएको छ ।