जनता टाइम्स

२९ असार २०७७, सोमबार १६:५६

उपत्यकामा कोरोना संक्रमण तथ्यांक : ३३ सय जनाको परीक्षण गर्दा जम्मा तीन जनामा मात्रै देखियो संक्रमण


काठमाडौं, असार २९ । काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिए/नफैलिएको यकिन गर्न स्वास्थ्य मन्त्रालयले अघि बढाएको १२ वटा ठाउँको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । मन्त्रालय अन्तर्गतको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म ११ वटा ठाउँको परीक्षण कार्य सकिएको छ । ११ वटा ठाउँबाट एक हजार बढी व्यक्तिको स्वाब परीक्षण गर्दा तीन जना व्यक्तिमा संक्रमण पुष्टि भएको महाशाखाले जानकारी दिएको छ ।

‘११ वटा ठाउँको परीक्षण सकेका छौं । तीमध्ये टोखा नगरपालिकाको हरियाली बस्तीका तीन जना स्थानीयलाई संक्रमण पुष्टि भएको छ, जसमा एक महिला र दुई पुरूष हुनुहुन्छ,’ महाशाखाका मेडिकल प्राविधिक धनप्रसाद पौडेलले भन्नुभयो । पछिल्लो समय उपत्यकामा संक्रमित संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा संक्रमण पुगे/नपुगेको यकिन गर्न परीक्षणलाई व्यापक बनाएको छ । जसका लागि मन्त्रालयले रोग नियन्त्रण महाशाखालाई जिम्मा दिएको हो ।

महाशाखाले परीक्षण गर्नलाई उपत्यकाका तीन वटै जिल्ला पर्ने गरी १२ वटा ठाउँ छनोट गरेको थियो । जसमा काठमाडौंको तीनकुने, कपन, कागेश्वरी, मैतिदेवी, कोटेश्वर, टोखा, शंखमुल र खुसिबू रहेका छन । यस्तै भक्तपुरको भोलाछिन र बोडे छन् भने ललितपुरको नख्खु प्युटार छन्। तीमध्ये अब खुसिबूको मात्र परीक्षण गर्न बाँकी रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले तीनकुनेका ११३, कपनका १४०, मैतिदेवीका २००, कोटेश्वरका ११३, टोखाका ८०, शंखमूलका १८७, कागेश्वरीका ९०, भोलाछिनका ८०, बोडेका ३३, नख्खुका १११ र प्युटारका १३ जना व्यक्तिको स्वाव परीक्षण गरेको छ । यसरी कुल १ हजार १ सय ६० जनाको परीक्षण गर्दा जम्मा तीन जनामा संक्रमण पुष्टि भएको हो। महाशाखाका अनुसार टोखा हरियाली बस्तीमा बस्ने उनीहरू एक जना कैलालीबाट आएर क्वारेन्टिनमा बसेको र बाँकी दुई जनाको भने ‘ट्राभल हिस्ट्री’ नभएका स्थानीयबासी छन्।

१२ वटा ठाउँबाट जम्मा १२ सय व्यक्तिको परीक्षण गर्ने महाशाखाको लक्ष्य छ । यी १२ वटा ठाउँबाहेक महाशाखाले गंगालाल अस्पतालमा पनि २ सय जना बढी व्यक्तिको परीक्षण गरेको छ । गत असार २३ गते गंगालाल अस्पतालमा उपचाररत ७ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि महाशाखाले उनीहरूको सम्पर्कमा पुग्न सक्ने २ सय व्यक्तिको परीक्षण गरिएको थियो । तीमध्ये अस्पतालका दुई जना सुरक्षागार्डमा मात्रै संक्रमण पुष्टि भएको थियो।

यस्तै, महाशाखाले उपत्यकामा समुदायमा संक्रमण फैलिएको यकिन गर्न थप पाँच हजार जनाको परीक्षण गर्ने कार्य सुरू गरिसकेको छ । जसमा बैंक, मालपोत, अस्पतालजस्ता सेवाग्राहीहरूको भीडभाड हुने स्थान छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमण समुदायमा पुगे÷नपुगेको यकिन गर्नका लागि महाशाखाले स्वाव संकलन र परीक्षणलाई बढाएको बताउनु भयो ।

महाशाखाले तीन दिनअघिबाट स्वाब संकलन सुरू गरिएकोमा अहिलेसम्म २ हजार २ सय १८ जनाको परीक्षण भएको जनाएको छ । जसमा अहिलेसम्म कसैमा पनि संक्रमण देखिएको छैन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिएका ९ जना संक्रमित सवै बाहिरबाट आएका ब्यक्ति रहेको महाशाखाले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार २४ घण्टामा काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना कोरोना संक्रमण पुष्टि भएको हो ।