जनता टाइम्स

१ श्रावण २०७७, बिहीबार १६:१३

काठमाडौं उपत्यकामा समुदायमा देखिएन कोरोना : २ हजारको परीक्षणमा भेटिएनन एक जना पनि संक्रमित


काठमाडौं, साउन १

काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमन नभएको पाइएको छ । स्वास्त्थ तथा जनसंख्या मन्त्रालयको निर्देशनमा इपिडियोमोलोजी तथा रोग नियन्त्रक महाशाखाले संघीय राजधानी काठमाडौं उपत्यकामा गरेको परीक्षणले समुदायमा अहिलेसम्म कोरोना संक्रमण फैलिएको आधार नभेटिएको बताएको हो । कतै पनि नगएका केही व्यक्तिमा कोरोना भेटिएपछि उपत्यकाको समुदायमा संक्रमण फैलिएको आशंका गरिएको थियो ।

महाशाखाले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण पत्ता लगाउन पछिल्लोपटक दुई हजार जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको जनाएको छ । महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले थप दुई हजार जनाको परीक्षण गर्दा एकजना पनि संक्रमित नभेटिएको जानकारी दिनुभयो ।

महाशाखाले परीक्षण गर्न उपत्यकाको तीनै जिल्लाका १२ वटा ठाउँ छनोट गरेको थियो । प्रत्येक ठाउँबाट १ सय ८० वटासम्म स्वाब संकलन गरिएको थियो । ती ठाउँबाट संकलन गरिएको स्वाबमध्ये टोखा नगरपालिकास्थित हरियाली बस्तीका तीन जना व्यक्तिमा संक्रमण देखिएको थियो । जसमा एकजना कैलालीबाट आएर क्वारेन्टिनमा बसेकी महिला हुन् भने बाँकी दुईजना स्थानीय हुन् । त्यसबाहेक बाँकी ठाउँहरूबाट संकलन गरिएको स्वाब भने कुनै पनि पोजेटिभ देखिएन ।

अस्पतालमा भर्ना भएका विरामी, बैंक, मालपोतजस्ता धेरै भीडभाड हुने स्थानहरूमा आउने सेवाग्राही र कर्मचारीको समेत परीक्षण भइरहेको छ । महाशाखाले चार वटा टोली बनाएर त्यस्ता ठाउँहरूबाट स्वाब संकलन कार्य गरिरहेकको छ । यो रणनीतिअनुसार काम गरिरहेको महाशाखाको तथ्यांकअनुसार ४२ सय बढीको परीक्षण गर्दा जम्मा तीन जनामा संक्रमण पुष्टि भएको छ ।