जनता टाइम्स

५ श्रावण २०७७, सोमबार १४:३४

जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहित समुदायमा परीक्षण गर्दा ४६ मा कोरोना, सचेत रहन आग्रह


बारा, साउन ५

नेपालमा समुदायस्तरमै कोरोना संक्रमण देखिन थालेको छ । प्रदेश–२ को बारा जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको देखिएको हो । बारामा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो । जिल्लाका विभिन्न ठाउँका समुदायमै बसिरहेकाहरूमा परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

७४ वटा नमुना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी  दिनुभयो। बाराको देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका, कलैया उपमहानगरपालिकामा धनकौलमा गाउँपालिकामा सोमबार एकैदिन ४६ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । संक्रमित मध्ये ११ जना महिला र ३५ जना पुरुष छन् ।

पण्डितका अनुसार देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका ३, कलैया उपमहानगरपालिकाका ३ जना र धनकौलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा गाउँपालिका अध्यक्षसहित ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ६ जना गाउँपालिकाका कर्मचारी, ६ जना स्वास्थ्यकर्मीको परिवारका सदस्य र बाँकी स्थानीय छन् । यसरी समुदायकै व्यक्तिमा संक्रमण देखिएपछि जिल्लामा सचेत रहन आग्रह गरिएको छ ।