जनता टाइम्स

५ श्रावण २०७७, सोमबार १९:१४

अर्थमन्त्री खतिवडासँग युरोपियन युनियनका राजदूतले जनाइन यस्तो प्रतिवद्धता, साहायता बढाउने अठोट


काठमाडौं, साउन ५ । अर्थ र सञ्चार एवं सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडीले आज भेटबार्ता गर्नुभएको छ । आफ्नो ३ बर्षे कार्यकाल पुरा गरी ब्रसेल्स फर्कन लाग्नुभएका राजदूत कोडीले आज अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री खतिवडासँग बिदाई भेट गर्नुभएको हो ।

भेटमा अर्थमन्त्री खतिवडाले युरोपियन युनियनले नेपालको आर्थिक विकासमा पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिदैं निरन्तर सहयोगका लागि अनुरोध गर्नुभयो । अर्थमन्त्री खतिवडाका नीजि सचिवालयले जनाएअनुसार भेटमा मन्त्री खतिवडाले बहुधु्रवीय विश्व निर्माणमा युरोपियन युनियनले महत्वपूर्ण वैकल्पिक राजनीतिक शक्तिको भूमिका निर्वाह गरेको, नेपाल युरोपियन युनियनसँगको सहकार्यलाई थप उचाईमा लैजान इच्छुक रहेको र सवल युरोपको पक्षमा रहेको धारणा व्यक्त गर्नुभयो ।

युरोपियन युनियनले नेपालको व्यापार, रोजगारी, लगानी, पर्यटन र आर्थिक पुनर्उत्थानमा योगदान बढाउन सक्ने विश्वास व्यक्त गर्दै अर्थमन्त्री खतिवडाले नेपालले पाउने बजेट सहायताले नेपालप्रतिको विकास साझेदारको विश्वासलाई प्रतिविम्वित गरेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक/वित्तीय/श्रम लगायत हवाई यातायात, पर्यटन क्षेत्रमा नेपालले आफ्नो प्राथमिकता बढाएको र आर्थिक तथा वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनी व्यवस्था गरी सुशासन, पारदर्शिता र सुधारप्रति प्रतिवद्धता सुदृढ गरेको कुरा जानकारी गराउनु भयो । त्यस्तै उहाँले बजेट सहयोग, सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा गरिने कार्यलाई नतिजासंग आवद्ध गर्ने प्रयास गरिएको जानकारी पनि दिनु भयो ।

अर्थमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति लगायत हवाई सुरक्षा सम्बन्धी कार्यमा नेपाल सरकारले उच्च प्राथमिकता दिएको र युरोपियन पर्यटकहरुको गन्तव्य नेपाललाई बनाउने प्रयास रहेको सन्दर्भमा युरोपियन युनियनले नेपालको युरोपका देशहरुमा हुने उडानलाई अनुमति दिनसमेत आग्रह गर्नुभएको छ । उहाँले धेरै किसिमका विश्वव्यापी एजेण्डामा नेपाल र युरोपियन युनियन सहकार्यमा रहेको बताउँदै साझा हितका सवालमा संगसंगै प्रगति गर्दै जानुपर्ने धारणा राख्नुभयो । उहाँले राजदूतको नेपालको कार्यकाल सफल रहेको र आगामी कार्यक्षेत्रमा समेत नेपाललाई सक्दो सहयोगको अपेक्षासहित सफल यात्राको कामना व्यक्त गर्नुभयो ।

भेटमा राजदूत कोडीले नेपालमा आफूले ३ बर्षको सफल कार्यकाल समापनपछि केन्द्रीय कार्यालयमा फर्कन लागेको र यस अवधिमा नेपालले आफ्नो कार्य सम्पादनमा पुर्याएको महत्वपूर्ण सहयोग र हार्दिकतापूर्ण समन्वयका लागि धन्यवाद दिनुभयो । नेपालले युरोपियन युनियनसंगको सहकार्यमा राम्रो कार्य गरिरहेको आफ्नो धारणा व्यक्त गर्दै युनियनले नेपालको विकासका लागि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र बजेट सहयोग लगायत कोभिड—१९ सम्बन्धी सहयोग समेत आगामी दिनमा निरन्तर रहने कुरा जानकारी गराउनुभयो । युरोपियन युनियनको ७ बर्षे सहायता चक्र यसै बर्ष समापन भै अर्को चरणको ७ बर्षे चक्र थालनी हुने हुँदा त्यसमा समेत नेपाललाई प्राथमिकतामा राखी सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

पहिलो चरणमा ३ सय ६० मिलियन युरो बराबरको सहायताबाट शिक्षा, स्वास्थ्य, पोषण, पूर्वाधार, कृषि, मानव स्रोत विकास, लगानी, जलवायु परिवर्तन लगायतका क्षेत्रमा सहयोग गरिएको र आगामी सहायतामा यी क्षेत्रको अतिरिक्त स्थानीय विकास, श्रम बजार, डिजिटलाइजेशन लगानी समिश्रण, बजेट सहायता र हरित विकास जस्ता क्षेत्रमा सहायता केन्द्रीत गरी नेपालसंग सहकार्य गर्ने धारणा व्यक्त गर्नुभएको थियो ।