काठमाडौं, साउन ६ । बिश्वब्यापी रुपमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप तयार भएको छ । अक्सफोर्ड युनिभर्सिटीले कोरोना भाइरसबिरुद्धको खोप घोषणा गरेको हो । बिविसीका अनुसार कोरोनाबिरुद्ध बिकाश गरिएको खोप सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको छ ।
समाचार एजेन्सीहरुका अनुसार ११ हजार ७७ जना व्यक्तिमा गरिएको दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसबिरुद्धको एन्टीबोडी तथा टि सेल्स बनाउन सफल भएको छ । बेलायतले एक अरब डोज निर्माण गर्न अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसंग अर्डर गरिसकेको छ । यो खोप मान्छेलाई असर नगर्ने तर चिम्पान्जीलाई संक्रमण गराउने भाइरससंग आनुबंशिक मिश्रणद्वारा तयार गरिएको अक्सफोर्ड युनिभर्सिटीले खोप निर्माणको पहिलो चरणमा बताएको थियो । यो खोपलाई कोरोना भाइरसको स्पाइक प्रोटिनलाई निष्क्रिय बनाउने विश्वास गरिएको छ ।
दोस्रो फेजको परीक्षणमा सहभागीमध्ये ९० प्रतिशतलाई पहिलो डोजले नै एन्टिबोडी बिकास गरेको छ भने १० प्रतिशतलाई दुई डोज दिनुपरेको जनाइएको छ । सहभागीमध्ये ७० प्रतिशतलाई ज्वरो आउने तथा टाउको दुख्ने लक्षण देखिएपनि कुनै गम्भीर पार्श्वप्रभाब नभएको अनुसन्धानकर्ताले जानकारी दिएका छन । तेस्रो तथा अन्तिम चरणको ट्रयालमा बेलायतमा एक लाख व्यक्तिलाई, अमेरिकामा ३०, हजार व्यक्तिलाई, दक्षिण अफ्रिकामा २ हजार र ब्राजिलमा ५ हजार व्यक्तिलाई समाबेश गरिने विश्वविध्यालयले बताएको छ ।
यो बर्षको अन्त्यसम्म स्वास्थ्यकर्मी तथा जोखिम बर्गमा रहेका व्यक्तिलाई खोप दिने तथा अर्को बर्षको मध्यसम्म ठूलो मात्रामा वितरण भएर विश्वका अधिकांश देशमा पुर्याउने उत्पादक कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्