जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार १३:०१

भोलिदेखि पश्चिम क्षेत्रबाट कम हुँदै वर्षा, प्रदेश १, २, गण्डकी र बागमतीमा भने अझै जारी


काठमाडौं, साउन ६

बुधबारदेखि भने पश्चिम क्षेत्रबाट वर्षा क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले दिनुभएको जानकारीअनुसार भोलिबाट पश्चिममा वर्षा कम हुँदै गए पनि प्रदेश १, २, गण्डकी र बागमती प्रदेशमा भने अझै केही दिन वर्षा जारी रहने छ ।

४ गतेदेखि निम्नचापीय रेखा नेपालको ठीक माथि छ । त्यसैले देशभर मध्यमदेखि भारी वर्षा हुँदै आएको छ । महाशाखाका अनुसार मनसुनी निम्न चापीय रेखा साउन ९ गतेदेखि दक्षिण जाने छ । महानिर्देशक वैद्यका अनुसार निम्न चापीय रेखा दक्षिणतर्फ सर्दै गएमा भारतमा धेरै वर्षा हुन्छ भने नेपालमा सुक्खा हुन्छ । केही दिनयता जारी वर्षाका कारण देशभर बाढीपहिरो र डुबानको समस्या छ ।

मौसम विज्ञान विभागका अनुसार तीन दिनयता गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ मा भारी वर्षा मापन भएको छ । जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महिना मनसुन कायम रहने महिना हुन् । ‘जुन १ देखि आज विहानसम्म परेको पानीको अवस्था हेर्दा औसतभन्दा बढी पानी परेको अवस्था जनाउँछ,’ महानिर्देशक वैद्यले भन्नुभयो ।

वर्षासँगै खोला तथा नदीमा आउने बाढीका कारण सम्भावित जोखिममा परेका बासिन्दाहरुलाई मौसम विज्ञान विभागले एसएमएस र सामाजिक सन्जालमार्फत् पूर्वसूचना जारी गर्दै आएको छ । हालसम्म जोखिम क्षेत्रका बासिन्दालाई ५० लाख १७ हजारभन्दा धेरै एसएमएस पठाएर सतर्क रहन भनिसकिएको उहाँले सुनाउनुभयो ।