जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार १३:४४

नेपालमा फेरि ठूलो भूकम्प जानसक्ने खतरा : यस्तो छ अनुसन्धानकर्ताहरुको निष्कर्ष


काठमाडौं, साउन ६ । नेपालमा फेरि एक पटक ठूलो भूकम्प आउन सक्ने संभावनालाई अनुसन्धानकर्ताहरुले औल्याएका छन । युनिभर्सिटी अफ अल्बर्टाका अनुसन्धानकर्ताहरुले नेपालमा फेरि ठूलो भूकम्पको खतरा देखिएको औल्याएका हुन ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार नेपालमा पेट्रोलियम पर्दाको खोजीका क्रममा जमिनमा भित्रबाट फरक तरिकाको आवाज सुनिएको र टेक्टोनिक प्लेट्समा लगातार बदलाव आएको अनुसन्धानकर्ताको निष्कर्ष रहेको छ । अनुसन्धानकर्ताले नेपालको पश्चिमी क्षेत्रमा अबको भूकम्पले ठूलो क्षती व्यहोर्नुपर्ने जनाएका छन । नेपालमा आउने भूकम्पका लागि गंगा नदीको बहाव क्षेत्रमुनि भएको परिवर्तन मुख्य जिम्मेवार रहेको अध्ययन निश्कर्ष राख्दै इण्डियाटाइम्सले जनाएको छ ।

अल्वर्टा विश्व विद्यालयका अनुसन्धानकर्ता माइक डुवाल र उनको टोलीले नेपालको हिमालय क्षेत्रको जमिनबारे अध्ययन गरेको थियो । आफूहरुले जमिनभित्रको सतहमा आएको परिवर्तनलाई रेकर्ड गरेको जिकिरसमेत अनुसन्धानकर्ताले गरेका छन । उनीहरुका अनुसार अव आउने भूकम्प २०७२ सालको भन्दा पनि ठूलो रेक्टरस्केल हुनसक्ने अनुमान गरेका छन । डुवाल नेतृत्वको टोलीले नेपालको जमिनका विभिन्न तहको अध्ययन गरेको छ । नेपालको पहाडी क्षेत्रको जमिनको तह गंगा नदीको तहसँग जोडिएको छ । गंगा नदीको बहाव क्षेत्रमुनि ठूलो हलचल चलिरहेको र त्यसको आवाज नेपालको हिमालय क्षेत्रमा पनि सुनिएको सो टोलीको भनाई छ ।

अनुसन्धानकर्ता डुवालका अनुसार हिमालय क्षेत्रको मुनि जमिनको तह उल्झन प्रकारको देखिएको छ । यो नेटवर्कका कारण ठूलो भूकम्प आउन सक्ने र त्यो लामो समयसम्म शक्ति संचय गरेर धान्न नसक्ने अवस्थामा पुगेको सो टोलीको भनाई रहेको छ ।