जनता टाइम्स

७ श्रावण २०७७, बुधबार ०७:४६

त्रिविका सबै क्याम्पस आजदेखि खुल्ने : बिदा बसेका प्राध्यापकलाई बोलाइयो, भदौं ७ बाट परीक्षा सुरु हुने


काठमाडौं, साउन ७ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन । लकडाउन अन्त्य भएसँगै सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै आजबाट क्याम्पस सञ्चालनमा ल्याउने निर्णय त्रिबिले गरेको हो ।

सरकारले कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणका कारण चैत ११ देखि लगाएको लकडाउन हटाउने निर्णय लिए लगतै विश्वविद्यालय आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको जनाएको छ । यसैवीच, त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय गरेको छ । त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालले दिनुभएको जानकारीअनुसार स्थगित परीक्षा दशैअघि सक्ने र दशैपछि अन्य नियमित परीक्षा गर्ने तयारी त्रिविको छ ।

त्रिबिले क्याम्पस सञ्चालन गर्ने निर्णय गरेसँगै विदामा बसेका प्राध्यापकहरुलाई पनि बोलाउने निर्णय गरेको छ । विश्वविद्यालयका अध्यापकहरुलाई दिइएको विदा समेत सकिएको र अव क्याम्पसमा हाजिर हुनुपर्ने भएको छ । क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापकहरुलाई पनि बोलाइएको जनाइएको छ ।