जनता टाइम्स

७ श्रावण २०७७, बुधबार १६:००

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित चिनियाँ महिलाको मृत्यु


काठमाडौं, साउन ७

कोरोना संक्रमित चिनियाँ महिलाको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत चिनियाँ नागरिक ४८ बर्षिय महिलाको आज विहान मृत्यु भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. रोहितकुमार पोखरेलले बताउनुभयो । मंगलबार बेलुकीमात्रै ग्राण्डी इन्टरनेशनल अस्पतालमार्फत टिचिङमा रिफर गरिएको उनको आइसियूमा राखेर उपचार भइरहेको थियो ।

पोखरामा एक बर्षअघिदेखि बसोबास गर्दै आउनुभएको उक्त चिनियाँ महिला मुटुको समेत विरामी भएको बताइएको छ । उहाँलाई स्वासप्रश्वासमा समस्या भएपछि हेलिकप्टरमार्फत ग्राण्डी अस्पताल ल्याइएको थियो । परीक्षणका क्रममा कोरोना पुष्टि भएपछि ग्राण्डीले त्रिवि शिक्षण अस्पताल रिफर गरेको थियो ।

हाल उक्त महिलाको शव शवगृहमा रहेको र त्यसको व्यवस्थापन कसरी कहाँ गर्ने भन्ने छलफल भइरहेको डा. पोखरेलले बताउनुभयो । विदेशी नागरिक नेपालमा कोरोना देखिई मृत्यु भएको यो पहिलो घटना हो । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।