जनता टाइम्स

८ श्रावण २०७७, बिहीबार १६:०६

कोरोना संक्रमणपछि फोक्सो प्रत्यारोपन गरेका बृद्ध फर्किए घर, अस्पतालमा छायो यस्तो खुसियाली


काठमाडौं, साउन ८ । बिश्वभर महामारीको रुप लिएको कोरोनाबाट बच्न सकिने बिभिन्न उपायको खोजी भइरहेको बेला चीनले निकै खुसीको खवर दिएको छ । चीनको वुहान विश्वविद्यालय अन्तर्गतको रेन्मिन अस्पतालमा फोक्सो प्रत्यारोपण गरेका बृद्धले कोरोनालाई जितेका छन ।

६५ वर्षीय कुइ झिकियाङ्गले फोक्सो प्रत्यारोपण गरेको ९२ दिनपछि कोरोनालाई जितेर अस्पतालबाट डिष्चार्ज भएको हुन । उनी कोरोना संक्रमणकै अवस्थामा फोक्सोको सफल प्रत्यारोपण गरी अस्पतालबाट डिस्चार्ज हुने विश्वकै पहिलो व्यक्तिसमेत बनेका छन । कोरोना संक्रमणको अवस्थामा विश्वभरमा फोक्सो प्रत्यारोपण गरिएका १० जनामध्ये झिकियाङ्ग कोरोना जित्ने पहिलो व्यक्ति बनेका चिनियाँ समाचार संस्था सिजिटिएनले जनाएको छ ।

सिजिटिएनका अनुसार झिकियाङ्ग रेन्मिन अस्पतालबाट डिस्चार्ज भएका ५ हजार ५ सय १० बिरामीमध्ये अन्तिम पनि हुन । आवाजमा समस्या रहेका कारण उनले अस्पताल छाड्नु अगाडि एउटा बोर्डमा ‘म अस्पताल छोड्दै छु, धेरै–धेरै धन्यवाद’ लेखेका छन । कोरोना महामारीका बीच संक्रमित बिरामीको फोक्सो प्रत्यारोपण गर्ने चीन पहिलो देश रहेको थियो । चीनसँगै इटाली, दक्षिण कोरिया, अमेरिका र अष्ट्रेलियाले पनि महामारीको बीचमा आफ्ना देशका कोरोना संक्रमित बिरामीको फोक्सोको प्रत्यारोपण गरेका थिए ।

झिकियाङ्गको गत अप्रिल २० मा ८ घण्टा लगाएर फोक्सोको प्रत्यारोपण गरिएको थियो । यसअघि जनवरी २३ मा उनले फोक्सो प्रत्यारोपण गर्नुपर्ने पत्ता लागेको थियो । प्रत्यारोपणको केही हप्तासम्म अचेत अवस्थामा रहेका उनलाई सहयोगमा चल्नसक्ने अवस्थामा आउनको लागि २ महिना लागेको थियो । उनी अस्पतालबाट डिष्चार्ज हुँदा निकै खुसी देखिएका थिए । उनीसँगै चिकित्सक र स्वास्थ्यकर्मी पनि दंग देखिएका थिए ।