काठमाडौं, साउन ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अस्पतालमै पुगेर एसिड आक्रमणमा परेकी किशोरीको अवस्था बुझ्नुभएको छ । काठमाडौंको बाफलमा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको अवस्था बुझ्न मन्त्री ढकाल आज कीर्तिपुरस्थित अस्पताल पुग्नुभएको हो ।
घाइते युवतीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिएपछि मन्त्री ढकालले उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिनुभयो ।
‘तपाईंको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ । घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ,’ कीर्तिपुर अस्पतालको बेडमा उपचाररत कार्कीसँग मन्त्री ढकालले भन्नुभयो । सो अवसरमा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकहरुसँग घाइतेको उपचारबारे जानकारी लिनुभएको थियो ।
सो अवसरमा ओखलढुंगाबाट निर्वाचित सांसद यज्ञराज सुनुवारले उपचारको जिम्मा सरकारले लिएकोमा धन्यवाद दिनुभयो । काठमाडौंको सीतापाइलामा बस्दै आउनुभएकी ओखलढुङ्गाकी २२ वर्षीया कार्कीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले तेजाब छ्याप्न लगाएका प्रहरी अनुसन्धानबाट खुलेको छ । दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्