जनता टाइम्स

१२ श्रावण २०७७, सोमबार १३:०७

काठमाडौंमा एकै परिवारका पाँच जनामा कोरोना संक्रमण, जोखिम बढेको भन्दै चिकित्सकले गराए सचेत


काठमाडौं, साउन १२ । काठमाडौं महानगरपालिकाको ब्यापारिक केन्द्र मानिने महाबौद्धका एक व्यापारीको परिवारका पाँच सदस्यमा कोरोना संक्रमण भएको पाइएको छ । भारतको सीतामडीबाट माइत आएकी युवतीबाट परिवारका सदस्यमा कोरोना भाइरस संक्रमण सरेको आशंका स्वास्थ्य क्षेत्रका अधिकारीले गरेका छन ।

नेपालमा परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो । यसअघि बाँकेमा एकै परिवारका दुई जनामा कोरोना देखिएको थियो । स्वास्थ्य अधिकारीका अनुसार सीतामडीमा विवाह गरेकी युवती लकडाउन खुलेपछि वीरगन्ज हुँदै काठमाडौं आएको र उनैबाट परिवारका अन्य सदस्यमा कोरोना सरेको हो । सुरक्षालाई ध्यानमा राखी ती व्यापारीको विस्तृत परिचय खुलाइएको छैन । यद्यपी उनी पर्सा घर भई महाबौद्धमा ब्यवसाय गर्ने ब्यक्ति रहेको जानकारी भने दिइएको छ ।

भीड हुने क्षेत्रमा स्वाव संकलनको क्रममा एक जनामा शंका लागेपछि ती ब्यापारीका घरपरिवारका सबै सदस्यको पीसीआर परीक्षण गरिएको थियो । सो क्रममा पाँचै जनामा कोरोना पोजेटिभ पाइएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि भर्ना गरिएको छ । शुक्रराज अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले एकै परिवारका पाँच सदस्यलाई कोरोना संक्रमण भएको जानकारी दिनुभयो । माइत आएका बेला परिवारका अन्यमा संक्रमण भएको हुन सक्ने डा. राजभण्डारीले बताउनु भएको छ । नाति, नातिनीसहित हजुरबुवा, हजुरआमा, आमालाई पनि संक्रमण पुष्टि भएपछि शुक्रबार र आइतबार अस्पतालमा भर्ना गरिएको उहाँले जानकारी दिनुभयो ।

डा. राजभण्डारीका अनुसार कोरोना पुष्टि भएकामध्ये एक जनामा डेंगुको लक्षणसमेत देखिएको छ । ‘स्वास्थ्य अवस्था सामान्य छ । दुई जनामा सामान्य खोकी छ । अन्य लक्षण देखिएको छैन’, राजभण्डारीले भन्नुभयो । उपत्यकामै परिवारका सवै सदस्यमा कोरोना देखिएपछि चिकित्सकहरुले समुदायमा फैलन लागेको भन्दै चिन्ता जनाएका छन । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. वासुदेव पाण्डेले परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिँदा जोखिमको संकेत देखापरेको भन्दै सवैलाई सचेत गराउनु भएको छ । ‘परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिएपछि सबै जना झन बढी सतर्क र सजग हुनुपर्छ, हेलचेक्र्याइँ गर्नुभएन । कोरोना नियन्त्रणमा चुनौती बढ्छ,’ डा. पाण्डेले भन्नुभयो ।

नेपालमा माघ गत ९ गते पहिलो संक्रमण फेला परेको थियो । हालसम्म नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय ३२ पुगेको छ । यीमध्ये १३ हजार १ सय २८ जना निको भएका छन । कोरोनाबाट ४७ जनाको ज्यान गइसकेको छ ।