जनता टाइम्स

१२ श्रावण २०७७, सोमबार १५:३१

कोरोनासँगको लडाईमा पनि अब्बल देखियो प्रदेश–५ सरकार : निको भए ९२ प्रतिशत संक्रमित


बुटवल, साउन १२

नेपालमा कोरोना संक्रमण माघ महिना देखि देखिएको थियो । यसले तिव्रगति समाएको बैशाख यता हो । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि चैत ११ गतदेखी लकडाउन शुरु गरेको थियो ।

लकडाउनका कारण विदेशमा र विशेषगरी भारतमा रहेका नेपाली स्वदेश फर्किन पाएनन् । नेपाल र भारतबीच जहा जुन देशका नागरिक छन्, त्यही राख्ने र सम्बन्धित देशले नै हेर्ने सहमति भयो । तर, सहमतिबाट भारत पछाडी हट्यो । उसले क्वारेन्टिनमा राखेका नेपालीलाई दुख दिने, दशगजामा ल्याएर राति राति छाडिदिने गर्न थाल्यो । त्यसपछि सरकारले बैशाखपछाडी नेपालीलाई स्वेदश ल्याउन थाल्यो ।

भारतमा रहेका नेपाली स्वदेश फर्किने वित्तिकै कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थाल्यो । त्यसको प्रत्यक्ष असर प्रदेश–५ र प्रदेश–२ लाई पर्यो । शुरुमा सबै प्रदेश संक्रमितको सख्या बढ्न थालेपछि निक्कै त्रसित भए । तर, प्रदेश–५ ले भने यसविरुद्धको लडाईमा डटेर मोर्चा कस्यो । जसको परिणाम स्वरुप कुनै समय सबैभन्दा बढि संक्रमित भएको प्रदेशमा अहिले ९२ प्रतिशत निको भएका छन् ।

चार हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएकोमा अहिले प्रदेशभरि २ सय ८२ जनामात्र उपचाररत छन् । कुल ४ हजार १ सय ८१ जना संक्रमितमा ३ हजार ८ सय ८६ जना निको भएर घर फर्किएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । १२ वटा जिल्ला रहेको प्रदेश ५ का तीन जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित भेटिएका थिए ।

३ सय ३२ जना संक्रमित फेला परेको रूपन्देहीमा अहिले सक्रिय संक्रमित २२ जना छन् । ढिलो संक्रमित भेटिएको पाल्पामा १५ जना उपचाररत छन् । पाल्पामा ५ सय ५९ जना संक्रमित भेटिएका थिए । कोरोना संक्रमित निको भएर घर जान थालेपछि आइसोलेसन अस्पताल खाली हुँदै गएका छन् । प्रदेश–५ मा रहेका १ सय ४० वटा आइसोलेसनमध्ये ३४ वटा आइसोलेसनमा अहिले संक्रमित रहेका छन् ।

प्रदेशका सबै जिल्लामा ३ हजार १ सय ४५ जना क्वारेन्टिनमा छन् । प्रदेशमा ५३ हजार ७ सय ४० जनाको पिसिआर परीक्षणको लागि स्वाव संकलन गरिएकोमा १ हजार ६९ वटाको रिपोर्ट आउन बाँकी छ ।