न्यूयोर्क, साउन १३ । अमेरिकामा कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अहिलेसम्मकै ठूलो परीक्षण सुरु गरिएको छ । अमेरिकाको नेसलन इन्स्टिच्युट अफ हेल्थ र मोडर्ना इन्कले बनाएको खोपको वृहत परीक्षण सुरु गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो क्लिनिकल परीक्षणमा ३० हजार जना सहभागी भएका स्थानीय अधिकारीले बताएका छन् । समाचार एजेन्सीहरुका अनुसार परीक्षणमा सहभागी ३० हजार जनालाई दुई डोजका दरले खोप दिएपछि वैज्ञानिकले उनीहरुको अध्ययन गर्दै खोपले कुन समूहमा प्रभावकारी काम गर्यो भनेर पत्ता लगाउने छन्। अमेरिकाले बनाइरहेको खोपको यो अन्तिम चरणको परीक्षण हो । कम्पनीका अनुसार परीक्षणका क्रममा एक स्वयंसेवकलाई २८ दिनको अन्तरमा दुई मात्रा दिने तयारी गरिएको छ ।
यसअघिका परीक्षणमा खोप सुरक्षित देखिएको दावी सो कम्पनीले गरेको थियो । आगामी नोभेम्बर महिनासम्ममा यसको नतिजा आएमा सन् २०२१ को सुरुवातमा यो खोप विश्व बजारमा उपलब्ध हुने अमेरिकी अधिकारीहरुले जनाएका छन । तेस्रो चरणको क्लिनिकल परीक्षणमा जाने तीन देशका कम्पनीमा अमेरिका एक हो । यसअघि चीनका दुई र बेलायतको एक कम्पनीले उत्पादन गरेका खोप तेस्रो चरणको क्लिनिकल परीक्षणमा पुगेका छन् ।
कोरोनाले बिश्वभर महामारीको रुप लिइरहँदा यसबिरुद्धको खोपको बिकाशमा सवैजसो मुलुक लागिपरेका छन । सवैभन्दा पहिला कुन कम्पनी र देशले कोरोनाबिरुद्धको खोप बजारमा ल्याउछन, यसै भन्न नसकिने समाचार एजेन्सीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्