जनता टाइम्स

१५ श्रावण २०७७, बिहीबार १८:०१

कोरोना संक्रमणको उच्च जोखिममा पर्यो काठमाडौं उपत्यका, संक्रमणबाट बच्न यस्तो छ सिएमसिको सुझाव


काठमाडौं, साउन १५ । कोरोना संक्रमणको हिसावले काठमाडौं उपत्यका उच्च जोखिममा परेको देखिएको छ । लकडाउन खुलेसँगै उपत्यका बाहिरबाट आउने र उपत्यकाभित्रै पनि सजगता नअपनाउने कामले जोखिम उच्च बनेको हो ।

यही तथ्यलाई मध्यनजर राखी काठमाडौं संकट व्यवस्थापन केन्द्र (सीएमसी) ले काठमाडौं उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सिएमसिले अवस्था भयावह हुने चेतावनीसहित यस्तो आग्रह गरेको हो । सरकारले साउन ७ गतेदेखि लकडाउन खोलेसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेकाले उच्च सतर्कता अपनाउन सीएमसीले सरोकारवालालाई आग्रह गरेको हो । आज मात्रै काठमाडौंका ४१ जनासहित उपत्यकाका तीन जिल्लामा ४५ जना नयाँ संक्रमित थपिएका छन । उपत्यकाका उद्योग धन्दा, कलकारखाना र सबै कार्यालय सुचारु हुँदा विभिन्न जिल्लाबाट मजदुर आउने क्रम बढेसँगै कोरोनाका संक्रमितको संख्या बढेको र थप बढन सक्ने सीएमसीको बुझाइ छ ।

संक्रमित बढेसँगै सीएमसीले उपत्यका प्रवेश गर्ने व्यक्तिलाई उच्च निगरानी राख्न जिल्लाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकामा कोरोना समुदायमा फैलिए भयावह हुने भएकाले भारतबाट आउने नागरिकको अनिवार्य पीसीआर परीक्षण गराएर मात्र प्रवेश गर्न दिनुपर्ने व्यवस्था कार्यान्वयन गराउनुपर्ने गृहकार्यसमेत अघि बढाइएको छ । उपत्यकामा प्रवेश गर्ने व्यक्तिको मोबाइल नम्बर समेतको विवरण प्रत्येक नाकाबाट दैनिक रूपमा जिल्ला प्रशासन र प्रहरीमार्फत अनिवार्य रूपमा उपलब्ध गराउने व्यवस्था गर्नेमा जोड दिइएको छ । लकडाउन खुलेसँगै उपत्यकामा सवारीसाधन र विभिन्न स्थानमा भीडभाड बढ्दै जान थालेकाले सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र सरसफाइ गर्ने काममा सबैले जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाका ४५ सहित नेपालभर २ सय ७४ जना नयाँ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ७४ जना कोरोना संक्रमित थपिएका हुन । संक्रमित हुनेमा काठमाडौंका ४१ जना रहेका छन भने ललितपुरका २ र भक्तपुरका २ जना रहेका छन । प्रवक्ता गौतमका अनुसार अनुसार पछिल्लो २४ घण्टामा २ सय २७ जना कोरोना जितेर डिष्चार्ज भएका छन । योसँगै डिष्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको छ । गौतमका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २७ जना रहेका छन ।

स्वास्थ्य प्रवक्ता गौतमले उपत्यकामा कोरोना जोखिम रहेकोले थप सतर्कता अपनाउन अपिल पनि गर्नुभएको छ । ‘उपत्यकामा कोरोना संक्रमणको जोखिम बढदै गएको तथ्यांकले देखाइरहेको छ, यस्तो अवस्थामा परिस्थिति थप भयावहतर्फ जान नदिन स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्छ,’ प्रवक्ता डा. गौतमले भन्नुभयो ।