जनता टाइम्स

१६ श्रावण २०७७, शुक्रबार ११:२४

प्रहरी प्रधानकार्यालयका ७२ प्रहरीमा कोरोना पुष्टि, दुई जनाको अवस्था गम्भिर


काठमाडौं, साउन १६

प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । शुक्रबार विहान थप २८ जनामा संक्रमण पुष्टि भएको छ । बुधबारबाट प्रहरी कार्यालयमा कोरोनाका संक्रमितहरु भेटिन थालेका हुन् ।

केन्द्रीय कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार आज विहानसम्म संक्रमितको संख्या ७२ पुगेको जानकारी दिनुभयो । सबै ७२ जनालाई बलम्बुस्थित एपिएफ अस्पतालका भर्ना गरिएको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार संक्रमितमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । उनिहरुमा श्वासप्रश्वासको समस्या देखिएको छ ।

पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थपमा संक्रमण देखिएको हो । संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी छन् ।

प्रहरीलाई कहाँबाट कोरोना सर्यो भन्ने कुरा अहिलेसम्म एकिन हुनसकेको छैन । ‘उहाँहरूमा कसरी सर्‍यो भन्ने खुलेको छैन। फिल्डमा खटिरहनु पर्ने हुन्छ’, एसएसपी कडायतले भन्नुभयो, ‘अब यस्तै बाहिर जादाँ कतैबाट सरेको होला तर कहाँबाट भन्न सकिने अवस्था छैन ।’ संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् २० जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको छ ।