जनता टाइम्स

१६ श्रावण २०७७, शुक्रबार १९:४९

नेपालसहित तीन देशलाई प्रवेश अनुमति र कोरोनाको भ्याक्सिन दिन चीन सहमत, प्रवक्ताले गरे यस्तो खुलासा


काठमाडौं, साउन १६ । चीनले नेपालसहित तीन देशका नागरिकलाई चीन प्रवेशको अनुमति दिने तयारी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनविनले नियमित पत्रकार सम्मेलनमा नेपाल, पाकिस्तान र अफगानिस्थानका नागरिकलाई चीन प्रवेशमा अनुमति दिने सहमति भएको जानकारी दिनुभएको हो ।

सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गर्नुभएको छलफलमा नेपाल, पाकिस्तान र अफगानस्तानका विदेशमन्त्री सहभागी थिए । सो छलफलमा विश्वव्यापी महामाहरीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध मिलेर लड्ने सहमति भएको जानकारी पनि प्रवक्ता वाङले दिनुभयो । ‘हामीले निश्चित मापदण्ड पूरा गरेर मानिसहरूको अन्तरसीमा आवतजावतलाई खुला गर्नेछौँ । त्यसका लागि हामीले फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्नका लागि छलफल गर्ने छौँ । मन्त्रीहरुबीच चार वटा विषयमा सँगै मिलेर काम गर्ने सहमति भएको छ । कोरोना भाइरसविरुद्ध संयुक्त रूपमा लड्ने, आर्थिक तथा सामाजिक विकासका गतिविधिलाई पुनः सञ्चालन गर्ने, फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्नका लागि छलफल गर्ने सहमति भएको छ’, प्रवक्ता वाङले भन्नुभयो ।

त्यस्तै उहाँले चार देशले बीआरआई सहयोग जारी राख्ने कुरामा पनि सहमति भएको जानकारी दिनुभयो । ‘मन्त्रीहरूले सार्वजनिक सूचना प्रसारण महत्वपूर्ण छ । कोरोना रोकथाम र नियन्त्रणमा वैज्ञानिक सहयोग आदान प्रदान गरिनुपर्छ । महामारीको बिरूद्ध लड्ने प्रक्रियामा त्यहाँ कुनै भेदभाव, कलंक, जातीयता हुन नहुने बताउनुभयो ’, प्रवक्ता वाङले भन्नुभयो । उहाँले कोरोना भाइरसबिरुद्धको भ्याक्सिन पनि तीन वटा देशले सहज रुपमा पाउने विषयमा सहमति भएको जानकारी दिनुभयो । अब चीनले निर्माण गर्दै गरेको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल, पाकिस्तान र अफगानिस्तानले सहज रुपमा पाउनेछन् ।

‘भाइरससँग संयुक्त रूपमा लड्न चीनले फलदायी परिणामहरू प्राप्त गरेको छ । हामी निरन्तर लडाई जारी राख्ने क्रममा कोरोना रोकथाम र नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्न, जनस्वास्थ्यको रक्षा गर्न र उत्पादनको पुनः सुरुलाई बढावा दिन, सीमापार व्यापारको अविरल प्रवाहलाई सहजीकरण गर्ने सहमति भएको छ’, प्रवक्ता वाङले भन्नुभयो ।

उहाँका अनुसार चार देशले नीति र कार्यमा समन्वय र महामारी रोकथाम र नियन्त्रणमा आपसी सहयोग बढाउनेछ । चीन अन्य पक्षहरूसँग परीक्षण, उपचार, लागूपदार्थ र भ्याक्सिन सहयोग पुर्‍याउन र सार्वजनिक स्वास्थ्य क्षमता निर्माणमा सहयोग पुर्‍याउन तयार भएको छ । ‘चीनले एकपटक खोप विकास गरेपछि तीन देशहरूमा खोपको पहुँच बढाउन सहयोग पुर्‍याउँछ । अफगानिस्तान, पाकिस्तान र नेपालका सबै विदेश मन्त्रीहरूले यसको प्रशंसा गर्नुभएको थियो,’ प्रवक्ता वाङको भनाई थियो ।