जनता टाइम्स

१७ श्रावण २०७७, शनिबार ०९:०१

पर्सामा समुदायमै कोरोना फैलिएको आशंका : सांसद प्रदीप यादवसहित थप ६४ जनामा कोरोना पुष्टि


वीरगन्ज, साउन १७ । पर्सा एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिनुभएको थियो । सांसद यादवका अंगरक्षक र चालकमा पानि कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा एक जना चिकित्सक पनि छन् । ‘३ महिलासहित १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका ६४ जनामा संक्रमण देखिएको छ,’ मेसु डा.उपाध्यायले भन्नुभयो ‘सांसद प्रदीप यादवमा पनि कोरोना पोजिटिभ पुष्टि भएको छ ।’

सांसद यादवले पनि आफूलाई कोरोना संक्रमण भएको जानकारी आफ्नो फेसबुक पेजमार्फत गराउनुभएको छ । शुक्रबार राति उहाँले लेख्नुभएको छ, ‘पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसोलेट गरेर आराममा छु ।’

यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय पर्सामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पर्सामा पछिल्लो दुई दिनमा मात्र ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पर्सामा पछिल्लो समय समुदायमै कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ ।