जनता टाइम्स

१७ श्रावण २०७७, शनिबार १६:२४

चिनियाँ राष्ट्रपति सी चिनफिङको घोषणा : नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइ दिन तयार छौं


काठमाडौं, साउन १७ । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन–नेपाल सम्बन्धलाई अघि बढाउन नेपालसँग मिलेर काम गर्न तयार रहेको बताउनु भएको छ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष वार्षिकोत्सव पुगेको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी बधाई सन्देश पठाउँदै चिनियाँ राष्ट्रपति सीले दुई मुलुकका जनतालाई बढी फाइदा पुर्‍याउने र यस क्षेत्रको स्थिरता र विकासमा सकारात्मक योगदान दिने बताउनु भएको हो ।

चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीलाई पठाएको सन्देशमा दुई मुलुकले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि एकअर्कालाई सम्मान र समान व्यवहार गरेको, राजनीतिक रुपमा आपसी विश्वास र गहन रुपमा पारस्परिक सहयोग गरिरहेको बताउनु भएको छ । राष्ट्रपति सीले चीन नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन तयार रहेको घोषणा पनि गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीलाई तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ली केकियाङलाई बधाई सन्देश पठाउनु भएको छ । यस्तै, लीले प्रधानमन्त्री ओलीलाई पनि सन्देश पठाउनु भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीले पनि एकअर्कालाई बधाई सन्देश साटासाट गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सीलाई पठाउनु भएको बधाई सन्देशमा दुई मुलुक बीचको सम्बन्धलाई अगामी दिनमा थप मजबुत बनाउनको लागि जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले सीले गत वर्ष अक्टोबरमा गरेको नेपाल भ्रमणको स्मरण गराउँदै उक्त अवशरमा नेपाल–चीन बीचको सम्बन्धलाई थप बढाउन रणनीतिक साझेदारी र सहकार्यलाई विकास र सम्वृद्धिको लागि कहिल्यै नटुंगिने मित्रताको रुपमा लिने निर्णय भएको बताउनु भएको छ ।

भण्डारीले गत वर्षको अप्रिलमा आफ्नो चीन भ्रमणका दौरान महत्वपूर्ण सम्झौता र समझदारी भएको बारेमा पनि स्मरण गराउनु भएको छ । उहाँले हासिल गरेको प्रगति र समृद्धिको सराहाना गर्दै चीनले तय गरेको दुई शताब्दीको लक्ष्यहरु सकार गर्न सफलताको कामसमेत गर्नुभएको छ । राष्ट्रपति भण्डारीले चीनले नेपालको सामाजिक–आर्थिक विकास तथा कोभिड–१९ महामारीको बेलामा अतिआवश्यक मेडिकल सामग्री र आफ्ना ज्ञान, अनुभवहरुको जानकारी दिएकोमा प्रशंसा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले पनि सीलाई पठाएको बधाई सन्देशमा दुई मुलुक बीच युगौंदेखिको गहिरो सम्बन्धलाई जोड दिँदै नेपालले लगातार रुपमा एक चीन नीतिलाई कायम राखेको बताउनु भएको छ । उहाँले चीनले जहिले पनि नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रतालाई सम्मान गरेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले यसअघि राष्ट्रपति सीले गरेको नेपाल भ्रमण र आफ्नो सन् २०१६ र सन् २०१८ मा चीन भ्रमणका दौरान भएका सहमति र सम्झौतालाई स्मरण गर्दै त्यसलाई कार्यान्वयनमा लाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले ती भ्रमणका क्रममा भएका पारवहन यातायात सम्झौता र यसको प्रोटोकल, नेपाल–चीन सीमापार रेलवे परियोजनाको सम्भाव्यता अध्ययन लगायतका पूर्वाधार विकास र कनेक्टिभिटीलाई बढावा दिइ द्विपक्षीय सम्झौता र द्विपक्षीय सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको बताउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बेल्ट एन्ड रोड (इनिसिएटिभ) पहलको सराहना गर्दै प्रधानमन्त्री ओलीले यसले बहुआयामिक कनेक्टिभिटी नेटवर्क अन्तरगत पर्ने कुराहरु लगायतका विकास एजेन्डाको लागि नेपाललाई एउटा महत्वपूर्ण आधार प्रदान गरेको धारणासमेत राख्नुभएको छ ।