जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार १०:४४

त्यो सानो गल्तीले हुनसक्छ कोरोना भाइरस संक्रमण


काठमाडौं, साउन १८ । लकडाउन खुलेसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेको छ । केही दिनयता सयदेखि दुई सय सम्मको सङ्ख्यामा प्रतिदिन देखिएको कोरोना सङ्क्रमण शनिबार बढेर तीन सयभन्दा माथि पुगेको छ । शनिबार ३ सय १५ जना सङ्क्रमित भएका छन् ।

कोरोना संक्रमित बढनुमा सतर्क नहुने प्रवृत्ति प्रमुख रहेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले स्वास्थ्य सतर्कता अवलम्बन नगरेका कारण कोरोना सङ्क्रमण बढ्न थालेको प्रष्ट पार्नुभयो । उहाँले अवस्था भयावह हुनसक्ने जनाउँदै स्वास्थ्य मापदण्डअनुसार चल्न पनि सवैलाई आग्रह गर्नुभएको छ । उहाँका अनुसार मास्कको प्रयोग नगर्ने र सामाजिक दुरी कायम नगर्ने प्रवृत्तिले कोरोना बढेको छ ।

शनिबार इलाममा नेपाल प्रहरीमा देखिएको कोरोना पनि मास्क नलगाएकाले सङ्क्रमण सरेको जानकारी गौतमले दिनुभयो । सिंहदरबारभित्र पनि मास्क नलगाउने गरिएको भन्दै उहाँले कतिपयले भीडभाडमा कुराकानी गर्दा मास्क खोलेर गर्ने गरेकाले जोखिम बढाएको बताउनुभयो ।
जोर–बिजोर प्रणाली लागू गरिए पनि वा बन्दाबन्दी गरिए पनि व्यक्तिगत रूपमा सुरक्षा अपनाउन सकिएन भने कोरोना भाइरस सर्न सक्छ, प्रवक्ता गौतमले भन्नुभयो, चिनजानका साथीसँंग बोलेको हो, भेटेको हो भन्दैमा मास्क नलगाउने र सुरक्षा नअपनाउने हो भने कोरोना फैलन सक्छ । उहाँका अनुसार छ हजार ९९३ जनाको पीसीआर परीक्षण गर्दा थप ३१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको हो ।

नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको बताउँदै गौतमले हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३८ रहेको बताउनुभयो । यस्तै पछिल्लो २४ घण्टामा थप ९३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या १४ हजार ४९२ पुगेको छ । उहाँले लकडाउन खुल्नुअगाडि ११ दिनमा ४७ हजार ८७७ पीसीआर परीक्षण भएकोमा एक हजार ३४५ को पोजेटिभ रिपोर्ट आएको बताउनुभयो । यो परीक्षणको २.८ प्रतिशत हो । बन्दाबन्दी खुलेपछिका ११ दिनमा ५८ हजार १७४ पीसीआर परीक्षण गरिएकोमा दुई हजार ९२ जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता गौतमले बताउनुभयो । गौतमका अनुसार लकडाउन खुलेपछि लकडाउनको ११ दिनको तुलनामा सून्य दशमलव ८ प्रतिशत संक्रमित बढेका छन ।