जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार १६:३०

उपत्यकाका तीन जिल्लासहित २४ घण्टामा थपिए २४६ जना कोरोना संक्रमित : कुल संख्या २०३३२ पुग्यो


काठमाडौं, साउन १८

पछिल्लो चौविस घण्टामा देशभर थप २४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा २४६ जनामा संक्रमण देखिएको बताउनुभयो । योसंगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ। आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १११ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ६०३ पुगेको छ । हालसम्म ७१.८ प्रतिशत डिस्चार्ज भएको उहाँले बताउनुभएको छ । काठमाडौंको मूख्य प्रवेशद्धारमा १० देखि १३ गतेसम्म १०८२७ जनाको नमुना संकलन गरिएको थियो । यसको विभिन्न प्रयोगशालामा परीक्षण भइरहेको र रिपोर्ट आएपछि जानकारी दिने डा. गौतमले बताउनुभयो ।