जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार १०:५६

कोरोना उपचारमा प्लाज्मा थेरापीले जगायो आशा, त्रिवि शिक्षणसहित तयार छन थेरापीका लागि यी १२ अस्पताल


काठमाडौं, साउन १९ । त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सफल भएसँगै अर्का संक्रमितमा पनि यो थेरापी गर्ने तयारी थालिएको छ । त्रिवि शिक्षण अस्पतालले मुलुकमा पहिलो पटक कोभिड–१९ संक्रमितको कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट सफलतापूर्वक उपचार गरेको हो । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको आईसीयूमा उपचाररत ६० बर्षीय डा. ज्ञानेन्द्रमान सिंह कार्कीको स्वास्थ्यमा प्लाज्मा थेरापीपछि उल्लेखनीय सुधार देखिएको छ । कोरोना संक्रमित कार्कीलाई गत बिहीबार राति प्लाज्मा दिएर उपचार गरिएको हो ।

शिक्षण अस्पतालको कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा.सन्तकुमार दासले प्लाज्मा थेरापीको ४८ घण्टापछि बिरामीको एक्स–रे प्रतिवेदनमा निमोनियामा करिब ७० प्रतिशत सुधार देखिएको जानकारी दिनुभयो । कार्की हाल आइसियू विथ अक्सिजन सपाृर्टबाट सामान्य वार्डमा फर्कनुभएको छ ।

कार्की ९ दिनअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट रेफर गरिएर शिक्षण अस्पतालमा आउनुभएको थियो । अस्पताल आउँदा उहाँमा बाइल्याटरल निमोनिया (दुवै फोक्सोमा संक्रमण) देखिएको थियो । अस्पतालमा विशिष्ट उपचारअन्तर्गत डेक्सामिथासोन थेरापी र एन्टिभाइरल औषधि रेम डेसिभिर सुरु गरिएको थियो । ‘रेम डेसिभिर नेपालमा उपलब्ध नभएकाले भारतबाट मगाइयो, तर उपचार दिएको पाँच दिनपछि समेत खासै सुधार भएन,’ डा. दासले भन्नुभयो ।

विशिष्ट उपचारबाट कुनै सुधार नदेखिएपछि कोभिड व्यवस्थापन समितिले प्लाज्मा थेरापी गर्ने निर्णय गरेको थियो । अस्पतालका स्वास्थ्यकर्मीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग समन्वय गरेर बिरामीको उपचारमा उपयोग हुने प्लाज्माको व्यवस्था गरिएको थियो । ‘हामीले कोरोना निको भइसकेका व्यक्तिबाट एक पिन्ट रगत लिएर त्यसबाट करिब २०० मिलिलिटर प्लाज्मा निकाल्यौं,’ डा. दासले भन्नुभयो, ‘गत बिहीबार राति ९ बजे बिरामीलाई प्लाज्मा ट्रान्सफ्युजन (चढाउन) सुरु गरेका थियौं । करिब दुई घण्टामा यो प्रक्रिया सकियो ।’

दासका अनुसार बिरामीलाई अन्य पुरानो उपचार पनि जारी राखिएको थियो । प्लाज्मा थेरापी दिएको अर्को दिन बिरामीमा सुधारको लक्षण देखिन थाल्यो । पहिले बिरामीलाई अक्सिजनको आवश्यकता ८०–९० प्रतिशत भए पनि प्लाज्मा थेरापीपछि घट्दै गएर हाल २४–२८ प्रतिशत मात्र अक्सिजन चाहिएको छ । प्लाज्मा थेरापीको दोस्रो दिन बिरामीमा देखिएको निमोनियामा समेत करिब ७० प्रतिशत सुधार भएको छ । अहिले कार्की आफै हिँडडुल गर्न सक्नुहुन्छ । उहाँको श्वासको गति सामान्य छ अर्थात् प्रतिमिनेट १६ देखि १८ पटकसम्म सास फेर्नुहुन्छ ।

उपचारमा संलग्न चिकित्सकहरूले प्लाज्मा थेरापीबाट यति छिटो र बढी सुधारको आशासमेत गरेका थिएनन् । प्लाज्मा थेरापी नगरिएको भए भेन्टिलेटर आवश्यक पर्न सक्ने अवस्थामा बिरामी थिए । कार्कीको उपचार सफल भएसँगै त्रिवि, शिक्षण अस्पतालका चिकित्सकहरूले अर्को बिरामीमा समेत प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी गरेका छन् । ती संक्रमित ३० वर्षका छन् । उनलाई समेत बाइल्याटरल निमोनिया देखिएको छ । दुई दिनअघि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्यासहित वीरगन्जबाट रेफर भएर उनी शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

सबैभन्दा पहिले त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी सुरु भए पनि देशभरका १२ वटा निजी र सरकारी अस्पताल कन्भलेसेन्ट प्लाज्मा थेरापी सुरु गर्न तयारी अवस्थामा छन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार अनुसार धुलिखेल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ग्रान्डी इन्टरनेसनल, मेडिसिटी, ह्याम्स अस्पताल प्लाज्मा थेरापीका लागि तयारी अवस्थामा छन् । यस्तै कोसी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल, नेपालगन्ज अस्पताल, सेती अस्पतालमा समेत जुनसुकै बेला प्लाज्मा थेरापी सुरु गर्न सकिने ज्ञवालीले जानकारी दिनुभयो ।

यो उपचार प्रणाली कोरोनाले निको भएका बिरामीको शरीरमा संक्रमणलाई असरहीन बनाउने एन्टिबडी विकास हुने धारणामा आधारित छ । कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिन्छ । प्लाज्मा रगतको तरल (पहेलो) खण्ड हो । यो रगतको कुल मात्राको करिब ५५ प्रतिशत हुन्छ । यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टिबडीको उच्च क्षमता हुन्छ । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो । कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ । एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्ण रूपले निको हुन्छ ।