जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार १२:३१

स्वास्थ्यमन्त्री ढकालको चेतावनी : उपत्यकामा कुनै पनि बेला कोरोना संक्रमणको भयावह स्थिति आउन सक्छ


काठमाडौं, साउन १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढेको भन्दै सतर्कता अपनाउनु सुझाव दिनुभएको छ । मन्त्री ढकालले संक्रमण अझै बढ्दै गए उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउने तथ्यसमेत राख्नुभएको छ ।

मन्त्री ढकालले अहिलेको अवस्थालाई मध्यनजर गरेर सबैले सचेत रहनुपर्ने बताउनु भयो । मन्त्री ढकालले उपत्यकामा संक्रमण नियन्त्रण गर्न नयाँ रणनीति अनुसार अगाडि बढ्न लागेको जानकारीसमेत दिनुभएको छ । ‘बाहिरी जिल्लाबाट उपत्यका आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्ने र पिसिआर परीक्षणलाई बढाउने तयारी छ,’ मन्त्री ढकालले भन्नुभयो।

काठमाडौंजस्तो ठूलो जनघनत्व रहेको वस्तीमा संक्रमण सल्कियो भने त्यो नियन्त्रण बाहिर जाने बताउँदै मन्त्री ढकालले भन्नुभयो, ‘काठमाडौंमा आगोजसरी सल्कियो भने त्यो अरु गाउँमा वा सानो सहरमाभन्दा विस्फोटक हुनसक्छ।’ मन्त्री ढकालले सरकारले दैनिक १८ हजार पिसिआर परीक्षण गर्नसक्ने गरी तयारी भइसकेको भन्दै कम्तीमा ६ लाख व्यक्तिको परीक्षण गर्ने जानकारी पनि दिनुभयो ।

सरकारले लागू गरेका मापदण्डहरुलाई पालना नगर्दा फेरि संक्रमणको स्थिति बढ्ने अवस्थामा पुगेको उहाँको भनाई छ । मन्त्री ढकालका अनुसार लकडाउन खुकुलो भएपछि सर्वसाधारणको ‘मुभमेन्ट’ बढेको र संक्रमण देखिएका ठाउँबाट समेत सर्वसाधारण काठमाडौं आउँदा जोखिम बढेको हो। काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको भन्दै उहाँले थप्नुभयो, ‘लकडाउन खुकुलो भएपछि प्रत्येक दिन संक्रमित ठाउँबाट मान्छेहरु आएको कुरा नाकामा परीक्षण गर्दा पुष्टि भएको छ ।’