जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार १६:२५

उपत्यकासहित २४ घण्टामा थपिए ४१८ नयाँ कोरोना संक्रमित, कुल २०७५० पुग्यो


काठमाडौं, साउन १९

पछिल्लो २४ घण्टामा देशभर थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा ४१८ जनामा संक्रमण देखिएको बताउनुभयो । योसंगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७३२ रहेको छ ।

हाल देशभरका विभिन्न क्वारेन्टाइनमा १० हजार ४५२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप ३५८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ९६१ पुगेको छ । हालसम्म नेपालमा ३ लाख ९८ हजार ९०७ पीसिआर परीक्षण भएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।