जनता टाइम्स

२० श्रावण २०७७, मंगलवार १४:१५

सीमा नाकामा बिओपी स्थापना गर्दा तर्सियो भारतीय मिडिया : दिन थाल्यो नेपालबिरुद्ध यस्तो भ्रामक समाचार


काठमाडौं, साउन २० । नेपालले आफ्नो सीमा क्षेत्रमा सुरक्षा बढाउँदा भारतीय मिडिया आतंकित बनेको पाइएको छ । नेपालले लामो समयदेखि अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जमिन समेटेर नक्सा प्रकाशन गरेपछि हरेकदिन नेपालविरुद्ध अतिरञ्जित समाचार सार्वजनिक गर्ने भारतीय मिडियाले पछिल्लो पटक सीमा सुरक्षाका लागि स्थापना गरिएको बोर्डर आउट पोष्ट (बिओपी) लाई लिएर अफवाह फैलाउन थालेका हुन ।

नेपालले आफ्नो भूमि दावी गरेसँगै भारतीय मिडिया नेपालविरुद्ध लागि परेका छन् । उनीहरुले नेपालले चीनको उक्साहटमा यस्तो काम गरिरहेको अफवाह फैलाउँदै नेपालको स्वाभिमानमाथि प्रहार पनि गरिरहेकै छन । भारतबाट प्रकाशित हुने इण्डिया टुडे, हिन्दुस्तान टाइम्स, इण्डियन एक्सप्रेस लगायतका सञ्चारमाध्यमले नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले नियमित प्रक्रिया अन्तरगत बिओपी बनाउन थालेको विषयलाई ‘चीनले भनेर नेपालले गरेको’ भन्दै अफवाहपुर्ण समाचार बनाएका हुन ।

लिपुलेक नजिकै चिनियाँ सेनाले ठूलो मात्रामा सैन्य उपस्थिति बढाएपछि भारतले एकपछि अर्को गर्दै नेपालबिरुद्ध गलत र भ्रामक समाचार सार्वजनिक गर्दै आएको छ ।

हेर्नुस आजतकको अफवाहपूर्ण समाचार

चीनले एकातिर पाकिस्तानलाई पूर्णरुपमा सहयोग गरिरहेको छ भने अर्कोतिर नेपाललाई उकास्ने काम गरेको छ । नेपालले चीनको उक्साहटमा लागेर नेपाल–भारत सीमा क्षेत्रमा आफ्ना गतिविधि बढाएको छ । नेपालले सीमा क्षेत्रमा २ सय भन्दा धेरै नयाँ बोर्डर आउट पोष्ट (बिओपी) बनाउन तिब्रता दिएको छ । यो काम नेपालले पहिले गरेको थिएन । भारतीय गृह मन्त्रालय स्रोतका अनुसार नेपालले अहिलेसम्म खलंगा, छाङरु र झुलाघाटपछि पञ्चेश्वरको रोलघाटमा पनि बिओपी बनाएर सशस्त्र प्रहरी बलका जवान तैनाथ गरिदिएको छ । नेपालले लिपुलेखको नजिकै पनि बिओपी बनाइरहेको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा भारतले सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का झण्डै ५ सय बिओपी तैनाथ गरिसकेको छ । नेपाल पनि भारतसँग बराबरी गर्न जुटेको छ । नेपालले पनि ४ सय देखि ५ सय बिओपी बनाउन सुरु गरिसकेको छ । भारतीय उच्च सुरक्षा स्रोतले अहिले नेपालको तर्फबाट जम्मा १ सय ३० बिओपी रहेको छ । नेपालले ठूलो संख्यामा बिओपी थप्नु खतरनाक संकेत हो ।

नेपाल–भारत सीमामा कयौँ हेलिप्याड

स्रोतका अनुसार लकडाउन र सीमा विवादकाबीच नेपालले आफ्नो सीमामा उपस्थिति बलियो बनाएको छ । नेपालको झुलाघाटस्थित सीमा पुरमा अस्थायी चौकी बनाएर जवान तैनाथ गरेको छ । झुलाघाट बिओपीमा एपिएफका दुई दर्जन भन्दा धेरै जवान तैनाथ भएका छन । सशस्त्र प्रहरीले पुल नजिकै अस्थायी बंकर पनि बनाएको छ ।
आजतकलाई स्रोतले दिएको जानकारी अनुसार लिपुलेखको नजिकै नेपालले गरबाधार र झाङरुमा दुई हेलिप्याड बनाएको छ । भारतीय सुरक्षा एजेन्सीले हेलिकप्टरका गतिविधि देखेका छन । अहिले कयौँ जग्गामा निर्माण कार्य जारी राखिएको छ ।

सुरक्षा एजेन्सीले नेपालले सुस्तामा पनि एक हेलिप्याड बनाएको जानकारी दिएको छ । यो बिहारको पूर्वी चम्पारणको नजिक पर्छ । यो क्षेत्र बाढी प्रभावित क्षेत्रमा पर्छ । सुस्ता सीमा विवाद भएको ठाउँ हो । जहाँ नेपालले चलाखी गरेर हेलिप्याड बनाइसकेको छ ।

नेपालले अर्को हेलिप्याड त्रिवेणीको आर्मी क्याम्प नजिक बनाएको छ । उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको नजिकै नवलपरासीमा पनि नेपालले अर्को हेलिप्याड बनाएको छ । यो सीमाबाट जम्मा १० किलोमिटरको दूरीमा पर्छ ।

 

अन्य मिडियाहरुले पनि यस्तै स्तरमा गिरेर नेपालबिरुद्ध अफवाहपूर्ण समाचार प्रकाशन÷प्रशारण गरिरहेका छन । खासगरी गोदी मिडियाको नामले परिचित भारतीय सरकारको वरिपरी रमाउन चाहने मिडिया नेपालबिरुद्ध खनिएका हुन । ती मिडयाले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेपाल हितमा हुने हरेका कामलाई लिएर भ्रम फैलाउने काम गरिरहेको छ । यसैको पछिल्लो संस्करण बिओपीको बारेमा आएको समाचार हो ।