जनता टाइम्स

२० श्रावण २०७७, मंगलवार १५:५१

२५ जनाभन्दा बढी भेला नहुनु भन्यौं, हाम्रै साथीहरू ४५० जनाको केन्द्रीय कमिटी बैठक माग गर्नुहुन्छ : प्रधानमन्त्री


काठमाडौं, साउन २०

प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विज्ञहरूसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोनाभाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरेका हुन्।

उहाँले आफ्नै पार्टीका नेताहरू मुलुकको संकटप्रति लापरबाह, जनताप्रति उदासिन हुँदै स्वार्थका पछाडि कुदेको टिप्पणी गर्नुभएको हो । सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रीय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘केही मानिस, केही माध्यम र केही संस्थाहरूमा अत्यन्तै गैरजिम्मेवारपन देखिन्छ। यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ। सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ। तर मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरून्त चाहियो भनेर भनिरहेका छन्। कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोच केही पनि छैन । तर बैठकचाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ। स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो। त्यसबाहेक केही छैन। यो देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरबाही, बेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृति निकै व्यापक रूपमा देखिन्छ।’

उहाँले थप्नुभयो, ‘देश यस्तो संकटमा भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाए पनि विरोध गर्ने। क्वारेन्टाइनमा राख्यो भने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन भन्ने लकडाउन गर्‍यो भने किन गर्‍यो भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने ।’

विज्ञहरूले समेत सरकारका कामप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गर्नुभएको हो । कोरोना संक्रमण नियन्त्रणदेखि लिएर बाढी पहिरो पीडितको उद्धारका काममा अधिकारीहरू खटिरहेका उल्लेख गर्दै उहाँले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गर्नुभयो ।

‘प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरू सडकमा गएका छन्, संक्रमित मान्छेसँग उनीहरू डिल गर्नु परेको छ। अनेक काममा उनीहरू छन्। त्यस्ता कामबाट उनीहरू संक्रमित भइराखेका छन्। ड्युटीको क्रममा संक्रमित भइरखेका छन्। रेस्क्यू गर्न जाँदा संक्रमित भएर आएका छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेको पानी परेको छ, बाढी आएको छ। सरकारले बाढी गएको पहिरो गएको ठाउँमा तत्काल जोखिमका साथ रेस्क्यू टिम पठाएको छ। अरूले पनि सहयोग गरेका छन्।

तर बौद्धिक जगतको टिप्पणीहरु सुन्छु– कहाँ छ सरकार ? काठमाडौंमा बसेर टेलिभिजनको पर्दा अगाडि क्यामरा अगाडि बसेर कहाँ छ सरकारभन्दा कता देखाउने ? त्यो रेस्क्यू गएको ठाउँमा हेर्नुपर्‍यो सरकार छ कि छैन्। त्यहाँका जनतालाई सोध्नुपर्‍यो सरकार छ कि छैन्। सरकारले जहिले पनि तदारूकताका साथ ज्यान जोखिममा राखेर सरकारी मान्छेरू त्यहाँ खटेका छन रेस्क्यु गरेको छ। राहत पुर्‍याएका छन्।’

प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पुर्‍‍याउनु पर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । संक्रमित सबै व्यक्तिलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नु पर्ने उहाँको भनाइ छ। उहाँले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनीसमेत दिनुभयो । ।