काठमाडौँ, साउन २२ । नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि भएको छ । बुधबार मोरङ र पर्सामा २/२ जना तथा काठमाडौँ र सप्तरीमा १/१ जना संक्रमितको मृत्यु पुष्टि भएको हो ।
पर्सामा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण भएको बुधबार नै पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालिकाका ४५ वर्षका एक जना पुरूष र पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा कोरोनाले नै मृत्यु भएको पुष्टि भएको छ ।
संक्रमणबाट मृत्यु भएका पुरूष मधुमेह र मुटुसम्बन्धी रोगबाट पनि पीडित थिए । युवतीलाई भने पखला लागेको थियो । उनलाई उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । तर, उनको मृत्यु कोरोनाले नै भएको बुधबार मात्रै पुष्टि भएको हो । मोरङको कोशी अस्पताल, विराटनगरमा पनि २ जना संक्रमितको मृत्यु भएको छ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूको बुधबार दिउँसो आएको रिपोर्टमा कोरोना पुष्टि भएको हुन ।
कोशी अस्पताल विराटनगरका प्रवक्ता डा.लक्ष्मी नारायण यादवका अनुसार विराटनगरका ४५ वर्षका पुरुष मंगलबार बेलुका कोशी अस्पताल भर्ना गरिएको थिए । उनमा पहिला देखि नै मधुमेह र लिभरको समस्या थियो । उनको बुधबार बिहान ९ बजे कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट आइनपुग्दै दिउँसो तीन बजे मृत्यु भएको थियो । यता सशस्त्र प्रहरी बल अस्पतालमा बलम्बुमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधवार नै सर्लाहीकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सशस्त्र प्रहरीका बलका प्रवक्ता राजु अर्यालले जानकारी दिनुभयो ।
अर्यालका अनुसार ती महिलामा साउन १६ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् । सप्तरीमा मंगलबार राति र बुधबार गरी तीन जना पुरूषको मृत्यु भएकोमा एक जनामा कोरोना पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार रुपनी गाउँपालिका ५ स्थित गढियाका ४५ वर्षीय पुरुषको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका उनलाई ज्वरो आएपछि र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि धरान लादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
काठमाडौं उपत्यकामा बुधबार एकै दिन १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार काठमाडौं उपत्यकामा बुधबार एकै दिन १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
‘बुधबार को नियमित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको भनेपनि साँझ ७ बजेको रिपोर्टमा थप ४० जना संक्रमित थपिएको अधिकृत कोइरालाले जानकारी दिनुभयो ।
कोइरालाका अनुसार नयाँ थपिएका संक्रमितहरु अधिकांस प्रदेश नम्बर २ बाट उपत्यका प्रवेश गरेका तथा भारतबाट आएका व्यक्ति छन् । यस्तै कतिपय संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु छन् । उनीहरूमध्ये अघिकांश काठमाडौं जिल्लामा बसोबास गर्नेहरु रहेका छन् ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड पूरा गर्न कोइरालाले काठमाडौंबासीलाई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्