जनता टाइम्स

२२ श्रावण २०७७, बिहीबार १६:२९

उपत्यकासहित देशभर २४ घण्टामा थपिए ३६० संक्रमित, कुल संख्या २१७५० पुग्यो, २३३ डिस्चार्ज


काठमाडौं, साउन २२

पछिल्लो २४ घण्टामा देशभर थप ३६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ६२२ पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले २४ घण्टामा ३६० जनामा संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको बताउनुभयो ।  आज देशभर कोरोना संक्रमितको सक्रिय संख्या ६ हजार २९६ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा ६ हजार ६२२ गरी हालसम्म ४ लाख १९ हजार ५७५ को पीसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप २३३ जना डिस्चार्ज हुनुभएको छ । त्यस्तै हालसम्म नेपालमा कोरोना संक्रमणबाट १५ हजार ३८९ जना मुक्त भई घर फर्किनुभएको छ । देशका विभिन्न क्वारेन्टाइनमा ९ हजार ४७० जना रहेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएको संख्या ६५ पुगेको छ ।