जनता टाइम्स

२२ श्रावण २०७७, बिहीबार १८:२४

मन्त्रीको एक्शनले जोगियो गर्भवती महिलाको ज्यान


काठमाडौं, साउन २२ । सिन्धुपाल्चोककी एक गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ६ निवासी ३४ वर्षीय पासाङ लामालाई स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि आज दिउँसो हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा उपचारको व्यवस्था मिलाइएको हो ।

बुधबार बेलुका सुत्केरी व्यथाले च्यापेपछि लामालाई स्थानीय थाङपालधाप स्वास्थ्य चौकी पुर्याइएको थियो । तर पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था असुरक्षित देखिएको र यसअघि समेत उहाँले मृत बच्चा जन्माएको हुनाले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सिफारिस गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक आत्माराम धितालले जानकारी दिनुभयो । सो सिफारिसबारे मन्त्रालयले जानकारी पाएलगत्तै महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले तत्कालै हवाई उद्धारको आवश्यक व्यवस्था मिलाएको थियो ।

हवाई उद्धार गरी अस्पतालमा पुर्याइएको आधा घण्टा पनि नबित्दै पासाङले बच्चालाई जन्म दिनुभएको अस्पतालले जनाएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाले मन्त्री पार्वत गुरुङलाई सम्पर्क गरेपछि उद्धारका लागि तत्काल आवश्यक व्यवस्था मिलाइएको थियो ।
मन्त्री गुरुङ आफैले सक्रियता लिएर तत्काल उद्धार गरेपछि उहाँको ज्यान जोगिएको हो । महिला बालबालिकता तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईकी प्रमुख महिला विकास अधिकृत अञ्जु ढुंगानाका अनुसार हालसम्म १ सय १९ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरी उपचारको व्यवस्था मिलाइएको