जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार १३:५८

वीरका अर्का चिकित्सकमा पनि कोरोना पुष्टि, अस्पतालका ३५ जनालाई क्वारेन्टाइनमा राखियो


काठमाडौं, साउन २३

शुक्रबार विहान वीर अस्पतालका अर्का चिकित्सकमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । यसअघि विहीबार मात्रै वीरका एक चिकित्सकमा कोरोना पुष्टि भएको थियो । शुक्रबार कोरोना पुष्टि भएका चिकित्सक अस्पतालका इमरजेन्सी विभागमा कार्यरत हुन् ।

दुई तीन दिन देखि ज्वरो आएर घरमै आराम गरेका उनको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिनुभयो । संक्रमित डाक्टरमा लक्षण देखिएकाले अस्पतालमै ल्याएर उपचार गर्ने तयारी भएको उहाँले बताउनुभयो । यसअघि विहीबार इन्टरनल मेडिसिन विभागका एक जना चिकित्सकलाई संक्रमण देखिएको थियो ।

अस्पतालमा उपचारत विरामी र उपचार गर्ने चिकित्सकमा कोरोना देखिएपछि वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्स, प्यारामेडिक्स तथा स्वीपर गरी ३५ जनालाई क्वारेन्टिनमा राखिएको छ । अस्पतालले आफ्ना स्टाफका लागि सुन्धारामा एक गेष्ट हाउस भाडामा लिएर अस्थायी क्वारेन्टाइन बनाएको छ ।