जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार २०:१९

बन्दाबन्दीले श्रमिकको रोजगारी गुमेकोमा राष्ट्रपतिद्वारा चिन्ता व्यक्त


काठमाडौं, साउन २३

राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने श्रमिकहरुले रोजगारी गुमाउनु परेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाले निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरुले पनि रोजगारी गुमाउनु परेकोमा चिन्ता व्यक्त गर्नुभएको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजकसँगको भेटमा उहाले समिति र सरकारले कोभिड–१९ नियन्त्रणका लागि गरेकाका कामका विषयमा जानकारी लिनु भएको थियो । राष्ट्रपति भण्डारीले महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरु र यसका लागि अपनाएका उपायहरु प्रभावकारी रहेको बताउनु भयो ।

यद्यपी उहाले हालैका दिनहरुमा संक्रमितहरुको संख्या बढेकोमा चिन्ता व्यक्त गर्दै रोकथामका लागि सरकारले जारी गरेको निर्देशन र मापदण्डहरु सबैबाट पालना गरिनुपर्नेमा जोड दिनुभयो । भेटमा समितिका संयोजकसमेत रहनु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल हुनुहुन्थ्यो । उहाहरुले पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनु भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।